
- हेमन्त केसी
जिल्लाको सक्ला–१,लैखम गाउँका दुईसयभन्दा बढी खत्री परिवारले माग्दै आएको खानेपानीको योजना नातिको पालासम्म पूरा नभएको स्थानीयवासी रमेश केसीले जानकारी दिए।
प्रत्येक वर्ष योजना नमागेको कुनै परिषद् नै हुँदैन तर कहिले पनि यो योजनामा कसैको ध्यान नगएको उनले बताए। बाजे र बाबाले मागेको योजना नातिको पालासम्म माग्दा पनि पूरा नहुँदा आफू निकै दुःखी भएको केसीले बताए।
लैखम गाउँमा पानी ल्याउनका लागि स्थानीय नौपानी मूलबाट करिब चार किलोमिटर पाइप जडान गरेपछि मात्र स्थानीयवासीको गाउँमा पुग्ने उनको भनाइ छ।
योजना माग्नका लागि गाउँलेबाट रकम उठाएर सिंहदरबार गएर मन्त्रीलाई भने पनि मागको सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ। कुरा गर्दा ठिक्क पार्छन् तर कार्यान्वयन कहिले पनि नभएको स्थानीयवासी प्रेम केसीले पीडा सुनाए। पानीको अभावमा यहाँका स्थानीयवासी घन्टाँै लगाएर खुल्लारुपमा बग्ने रिमखोलामा गएर मानिस र पशुचौपायासँगै पानी खाने गरेको केसीको भनाइ छ।
‘माथिल्लो गाउँका लागि २०५२ सालमा निर्माण गरिएको खानेपानीका धारामा अहिले पानी नै आउँदैन जहिले पनि उही पानीको पीडा, म अहिले ९० वर्षको भए, समाधान कहिले पनि हुँदैन’, स्थानीय वृद्ध मुक्तिसरा खत्रीले आक्रोशित हुँदै भने।
यस ठाउँमा खानेपानी ल्याउनका लागि करिव रु ६० लाखभन्दा माथिको रकम भएमा मात्र सबै गाउँलेको बस्तीमा पानी पुग्ने देखिन्छ। सबै खत्री मात्र बस्ने यो गाउँमा अधिकांश स्थानीयवासी पशुपालन व्यवसाय गर्दै आएका छन्। पानीको अभावमा यहाँका किसानका जमिनमा एक मात्र बाली लगाउने गरिन्छ।
सिँचाइ भएको भए वर्षमा दुई बाली लगाएर उत्पादन बढाउन सकिने सम्भावना रहेको यहाँका खत्रीले बताएका छन्। सिँचाइको अभावमा यहाँका किसानका जमिन हिउँदयाममा बाँझै हुने गरेका छन्। बर्खायाममा आकाशको पानीको भरमा मकैबाली लगाउने यहाँका खत्री बर्सेनि आकाशकै पानीको भरमा खेती गर्दै आएको बताउँछन्।
छिमेकी गाउँमा सिँचाइ गरी जमिनभरि हरियो बनाई वर्षमा दुई बाली लगाएको र आफ्नो जमिन बाँझै देख्दा मन रुने गरेको यहाँका किसानको भनाइ छ। बोकेर ल्याएको पानीले शौचालयसमेत प्रयोग गर्न निकै समस्या भएको छ।
खानेपानी नहुने लैखम गाउँमा शौचालयमा कसरी पानी पु¥याउन सकिन्छ ? स्थानीय शिक्षिका भावना वली खत्रीले प्रश्न गरिन। विद्यालयमा समेत खानेपानी नभएका कारण विद्यार्थीलाई समस्या हुँदै आएको छ। घरबाट बोतलमा बोकेर ल्याएको पानीले सबैलाई पु¥याउन नसकिने हुन्छ, एकसयभन्दा वढी विद्यार्थी पानीको अभावले हैरान हुने गरेको उनले बताइन। रासस