PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

चक्रपथबाहिर रोजाइका १० स्थान, जहाँ घर किनेर या भाडामै लिएर आनन्दले बस्न सकिन्छ



अमर बडुवाल

चक्रपथबाहिर रोजाइका १० स्थान, जहाँ घर किनेर या भाडामै लिएर आनन्दले बस्न सकिन्छ

काठमाडौँ : काठमाडौँ खाल्डोमा भिडभाड दिनहुँ बढ्दो छ। उपत्यकामा मात्र होइन आसपासका डाँडाकाँडा पनि घरैघरले ढाकिन लागिसके। घडेरी प्लटिङ नभएको ठाउँ पाउन मुस्किल भइसकेको छ।
 
तर बस्ती विस्तार भएअनुरुप सबै ठाउँमा पूर्वाधार पुगेका छैनन्। कतै बाटो सरल र फराकिलो छैन त कहीँ बिजुली, पानीको नै भरपर्दो उपलब्धता छैन। बस्तीको चापअनुसारको फराकिलो सडक नहुँदा ओहरदोहर गर्ने मान्छेले घण्टौँ लामो ट्राफिक जाम झेल्नुपर्छ।
 
उपत्यकामा चक्रपथभित्र घर किन्न होस् या कोठा भाडामा लिन, दुवै काम कठिन भइसकेको छ। महङ्गी पनि उस्तै। खानेपानीको उपलब्धता पनि भित्री सहरी इलाकामा त्यति सहज छैन।
 
त्यसैले हामीले चक्रपथबाहिरका यस्ता १० स्थान टिपोट गरेका छौँ, जहाँ तुलनात्मक रुपमा बसोबास गर्न सजिलो छ। बाटो, पानी, बिजुलीमात्र होइन शिक्षा र स्वास्थ्य सेवाको पनि सहजता छ।
 
यी स्थान जहाँ तपाईँ स्थायी या अस्थायी जुन तवरले बसे पनि अन्तको भन्दा खुल्ला ढङ्गले सास फेर्न सक्नुहुनेछ।
 
१) कीर्तिपुर नगरपालिका
नेवार समुदायको बाक्लो वस्ती भएको कीर्तिपुर नगरपालिकामा नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय अवस्थित छ। त्यसैले यो क्षेत्र विद्यार्थीहरुको पहिलो रोजाइमा पर्ने गर्दछ।
 
पछिल्लो समय कामकाजीहरुले पनि स्थायी/अस्थायी दुवै बसोबासका लागि कीर्तिपुर रोज्न थालेका छन्। त्यहाँ खानेपानी र यातायातको राम्रो व्यवस्था छ। खानेपानीको लागि विभिन्न ठाउँमा सार्वजनिक धारासमेत छन्। मच्छेगाउँ र दुधपोखरीमा रहेका मुहानबाट कीर्तिपुरका धेरै जसो घरमा दैनिक आधा घण्टा भन्दा बढी पानी आउने गर्दछ।
 
रत्नपार्कबाट १० किलोमिटरको दुरीमा पर्ने कीर्तिपुरमा तीन वटा अस्पताल, विश्वविद्यालयबाहेक १० भन्दा बढी उच्च माध्यमिक विद्यालय र तीन वटा स्नातक तहसम्मका कलेज छन्। खेतीपातीका लागि पर्याप्त खुल्ला ठाउँ रहेको कीर्तिपुरमा ६ मिटरदेखि २२ मिटरसम्मको भित्री सडक रहेको नगरपालिकाले जानकारी दियो।
 
कीर्तिपुरदेखि पुरानो बसपार्कसम्म २२ मिटर फराकिलो सडक रहेको छ। कीर्तिपुर यातायात सेवाअन्तर्गतका माइक्रोबस हरेक ५/१० मिनेटको फरकमा रत्नपार्क ओहोरदोहोर गरिरहन्छन्। बिहान ५ बजेदेखि साँझ ८/८:३० बजेसम्म सार्वजनिक यातायात चल्ने गर्दछन्। रत्नपार्कमात्र होइन कीर्तिपुरबाट लगनखेल र कलङ्कीको लागि पनि लोकल गाडी चल्ने गर्दछन्।
 
२) सूर्यविनायक नगरपालिका
रत्नपार्कबाट भक्तपुर सूर्यविनायक जोड्ने अरनिको राजमार्गलाई जापान सरकारले ५० मिटर फराकिलो बनाई दिएपछि यहाँ आवतजावत गर्न सजिलो भएको छ। आजभोलि यो क्षेत्रमा ट्राफिक जामको पनि समस्या हुँदैन।
 
नगरपालिकाभित्र पनि अधिकांश सडक फराकिला छन्। फराकिलो सडककै कारण रत्नपार्कबाट १७ किलोमिटर टाढा भए पनि यो ठाउँमा चाँडै नै पुगिन्छ। 'काठमाडौँका अन्य ठाउँबाट १० किलोमिटरको दुरी पार गर्न लाग्ने समयभन्दा चाँडो रत्नपार्कबाट १७ किलोमिटर टाढाको सूर्यविनायक आइपुगिन्छ' नगरपालिकाका कार्यकारी प्रमुख यमलाल अधिकारीले भने।
 
नगरपालिकाभित्र पर्याप्त पानीका मुहान नभएकाले खानेपानीको केही समस्या भए पनि खाली ठाउँ र खुल्ला बाटोको तुलनामा भने अरु नगरपालिकाभन्दा सूर्यविनायक अगाडि रहेको उनको भनाइ छ। नयाँ सडक पनि फराकिलो बनाउने काम भइरहेको उनले जानकारी दिए। 'अहिले काँक्राबारीदेखि पलाँसेसम्मको ४ किलोमिटर बाटो ८ मिटर फराकिलो पार्ने काम धमाधम भइरहेको छ' उनले भने।
 
सैनिक आवासीय महाविद्यालय रहेको सल्लाघारी यही नगरपालिकामा पर्छ। यसबाहेक यहाँ अन्य प्राविधिक तथा गैरप्राविधिक शिक्षालयहरु पनि रहेको अधिकारीले बताए। सूर्यविनायकबाट नयाँ बसपार्क, साँखु, पुरानो बसपार्क, कलङ्की, लगनखेललगायत राजधानीका अधिकांश ठाउँका लागि ठूला बस चल्ने गरेका छन्। नगरकोट, बनेपा, धुलिखेललगायत राजधानी नजिकका प्रमुख गन्तव्यमा पनि सूर्यविनायकबाट यातायातको सुविधा रहेको छ।
 
) चन्द्रागिरी नगरपालिका (थानकोट क्षेत्र)

चन्द्रागिरी डाँडामा हिउँ परेपछि यो वर्ष धेरैको ध्यान तानियो। थानकोटबाट केबलकार सञ्चालनमा आएसँगै पर्यटकीय गन्तव्य बनेको चन्द्रागिरी डाँडो यस नगरपालिकाको सबैभन्दा मुख्य आकर्षण हो।
 
नगरका विभिन्न ठाउँ रत्नपार्कबाट १५ देखि २० किलोमिटरको दुरीमा पर्छन्। सशस्त्र प्रहरीको अस्पताल र एकेडेमी रहेको यो क्षेत्रमा निजी अस्पताल पनि थुप्रै छन्। कलङ्कीबाट ५ किलोमिटरभित्र पर्ने मातातीर्थ, बलम्बु, नैकापलगायतका यी ठाउँमा यातायात र खानेपानीको पर्याप्त सुविधा रहेको नगरपालिकाका सूचना अधिकारी दीपक उपाध्यायले बताए।
 
थानकोटबाट लगभग उपत्यकाका सबै ठाउँ जाने यातायातका साधन पाइन्छन्। २२ मिटर फराकिलो सडकले थानकोट रत्नपार्क जोडेको छ। मातातीर्थदेखि चावहिल हुँदै कपनसम्म सीधा बस सेवा छ। थानकोटदेखि बानेश्वर, कोटेश्वर हुँदै टीकाथलीसम्म पनि बस सेवा उपलब्ध छ। कलङ्की हुँदै भक्तपुर सूर्यविनायकसम्मको पनि गाडी पाइन्छ।
 
४) बूढानीलकण्ठ नगरपालिका
रत्नपार्कबाट १० किलोमिटर दूरीमा रहेको बूढानीलकण्ठ नगरपालिकासम्म २२ मिटर फराकिलो सडक छ। साझा यातायातले लगनखेलदेखि बूढानीलकण्ठसम्म सीधा बस सेवा दिन थालेको छ। भृकुटीमण्डप र नेपाल वायु सेवा निगमबाट पनि बूढानीलकण्ठ जाने माइक्रोबस बिहान ५ देखि राति ७ बजेसम्म पाइन्छ।
 
बूढानीलकण्ठबाट चक्रपथ हुँदै नयाँ बसपार्क-कलंकी जाने बस पनि पाइन्छ। अर्को रुट चक्रपथ हुँदै कोटेश्वरसम्म पुग्दछ। पर्याप्त खुल्ला ठाउँ र पानीका मुहान भएको बूढानीलकण्ठ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा बस्ने भएकाले पनि चर्चामा रहेको स्थान हो।
 
यस क्षेत्रमा चर्चित बूढानीलकण्ठ हाइस्कुलसहित चारवटा स्नातकसम्म पढाइ हुने कलेज छन्। बाँसबारी न्यूरो अस्पताल बूढानीलकण्ठ नगरपालिकाभित्र छ भने गङ्गालाल हृदयरोग केन्द्र पनि नजिकै पर्छ।
 
५) शङ्खरापुर र गोकर्णेश्वर नगरपालिका (साँखु/सुन्दरीजल क्षेत्र)
चावहिलबाट भित्र बौद्ध-जोरपाटी हुँदै साँखु जोड्ने २२ मिटर फराकिलो सडक छ। शङ्खरापुर र गोकर्णेश्वर नगरपालिकामा पर्याप्त खेतीयोग्य जमिनसमेत छ।
 
चावहिल र जोरपाटीबाट यी क्षेत्रमा ठूला बस नियमित चल्छन्। खानेपानीको पर्याप्त स्रोत भए पनि व्यवस्थित गर्न नसक्दा खेर गइरहेको शङ्खरापुर नगरपालिकाका लेखापाल कपील पौडेलले बताए।
 
सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमै पर्छ। रत्नपार्कबाट साँखुको दूरी झन्डै २२ किलोमिटर भए पनि पछिल्लो समय विस्तार हुँदै गरेको सडकका कारण यातायात सहज हुन थालेको स्थानीयबासी बताउँछन्।
 
मेलम्ची जाने सबैभन्दा छोटो बाटो साँखु-नाङ्लेभारे सडकखण्डले पनि यी ठाउँलाई जोडेको छ। जोरपाटीदेखि सुन्दरीजलसम्मको सडक पनि २२ मिटर फराकिलो बनाइँदैछ।
 
सडक विस्तार पूरा भएपछि यी ठाउँमा सडक यातायातको समस्या नहुने गोकर्णेश्वर नगरपालिकाका शाखा प्रमुख भूपेन्द्र बोहराले बताए। नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल रहेको यो स्थानमा स्नातक तहसम्मका अरु कलेज पनि छन्। गोकर्णेश्वरबाट बालाजु, नयाँबसपार्क, पुरानो बसपार्क र कोटेश्वरसम्मको यातायात पाइन्छ।
 
६) तारकेश्वर नगरपालिका (मनमैजु क्षेत्र)
नयाँबसपार्क माछापोखरीबाट बाहिरिने बाटो २२ मिटर चौडा बनिसकेको छ। नुवाकोट जोड्ने यो पासाङल्हामु राजमार्ग नगरभित्रका अधिकांश सडक १० मिटरसम्म फराकिला रहेको नगरपालिकाका सहरी पूर्वाधार प्रमुख सविन महर्जनले बताए।
 
मनमैजु, नेपालटारलगायतका ठाउँमा खानेपानीको सुविधा पनि पर्याप्त रहेको उनको भनाइ छ। शिवपुरीको राष्ट्रिय निकुञ्जका मुहान एवम् काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गाडेका तीन वटा बोरिङको कारण यो क्षेत्रमा पानीको समस्या हटेको हो।
 
नगरपालिकाभित्र पनि खानेपानीका मुहान रहेका छन्। नगरले तयार पारेको योजना कार्यान्वनयमा गए भित्री सडकसम्म बस सेवा हुने महर्जनको भनाइ छ। रत्नपार्कबाट चिसापानी, मनमैजु, फुदुङ एवं बालाजु-बाइपास हुँदै साङ्लासम्म जाने बस सेवा नगरबासीले उपयोग गर्न सक्छन्। नगर क्षेत्रमा ठूला स्वास्थ्य संस्था नभए पनि स्नातकसम्म पढाइ हुने दुईवटा कलेज छन्।
 
७) नागार्जुन नगरपालिका (सीतापाइला क्षेत्र)
सीतापाइला चोकबाट चक्रपथबाहिर लाग्ने २२ मिटरको मूल सडकसँगै नागार्जुन नगरपालिका जोडिन्छ। सितापाइलादेखि भीमढुङ्गा हुँदै धादिङसम्म चल्ने यातायात सेवा यो ठाउँमा उपलब्ध छ।
 
त्यसका अलावा रानीवन हुँदै रत्नपार्क जाने माइक्रोबस पनि सीतापाइलाबाट चल्छन्। नगरपालिकामा ६ मिटरदेखि २२ मिटरसम्म फराकिला सडक बनिसकेका छन्। जङ्गल क्षेत्र र खुल्ला ठाउँ पनि पर्याप्त रहेको सीतापाइला क्षेत्रमा मनमोहन मेमोरिएल (वीर अस्पतालले खरिद गर्ने तय भएको) अस्पताल र सहिद मेमोरिएल अस्पताललगायत स्वास्थ्य संस्था रहेका छन्।
 
नागार्जुन वन क्षेत्रमा रहेका पानीका मुहानले नगरमा आंशिक रुपले खानेपानीको आपूर्ति भएको छ। केही ठाउँमा बोरिङ गरेरसमेत पानी निकालिएको स्थानियबासी बताउँछन्।
 
८) गोदावरी र महालक्ष्मी नगरपालिका
ललितपुरको गोदावरी पर्यटकीय तथा धार्मिक महत्त्वको स्थान हो। सातदोबाटोबाट हरिसिद्धि, बाडेगाउँ हुँदै गोदावरी कुण्डसम्मको बाटो २२ मिटर फराकिलो बनाउने प्रकृया सुरु भइसकेको छ।
 
कतिपय स्थानमा बाटो निर्माण नै पूरा भएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका अधिकृत केशव न्यौपानेले बताए। रत्नपार्कदेखि २० किलोमिटर टाढा भए पनि नियमित चल्ने यातायातका साधन र फराकिलो बाटोका कारण गोदावरी पुग्न कठिन छैन। गोदावरी क्षेत्रमा पानीका मुहान प्रशस्त रहेका कारण खानेपानीको समस्या नरहेको नगरपालिकाले जनाएको छ।
 
सातदोबाटोमात्र होइन इमाडोलबाट छिर्ने बाटो पनि २२ मिटर फराकिलो बनाउने सूचीमा छ। रत्नपार्क बाट इमाडोल, लुभू हुँदै लामाटार सम्मको १५ किलोमिटर बाटो २२ मिटर फराकिलो बनेपछि यस क्षेत्रको सवारी व्यवस्थापन अझ सहज हुनेछ। महालक्ष्मी नगरपालिकाभित्र पर्ने यो सडक बनेपछि ट्राफिक समस्या लगभग अन्त्य हुने स्थानीयको विश्वास छ।
 
९) बज्रबराही नगरपालिका (चापागाउँ, लेले क्षेत्र)
रत्नपार्कदेखि १४ किलोमिटरको दुरीमा रहेको बज्रबाराही नगरपालिकामा सुनाकोठी, ठेचो, लेले लगायतका ठाउँ पर्छन्। सातदोबाटोबाट लेले, तिलेश्वर हुँदै सरस्वतीकुण्डसम्म नै २२ मिटर फराकिलो बाटो प्रस्ताव गरिएको छ।
 
यो क्षेत्रमा खानेपानीका पर्याप्त स्रोत रहेका छन्। फराकिला सडकका कारण काठमाडौंसँग पनि सीधा सम्पर्क रहेको बज्रबाराही नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकराज पन्थीले बताए।
 
२५ देखि १५० शैय्यासम्मका ४ वटा अस्पताल, स्नातकसम्म सबै संकायको पढाइ हुने ४ वटा कलेज यस नगरपालिका रहेका छन्। तामाङ र नेवार संस्कृतिको मिश्रण रहेको नगरमा पर्याप्त खुल्ला ठाउँ र प्रदुषणरहित वातावरण मुख्य आकर्षण रहेको उनको भनाइ छ।
 
बज्रबाराही धेरै सार्वजनिक जमीन भएको नगरपालिकामा पनि पर्छ। यो नगरको नाममा १८ हजार रोपनी सार्वजनिक जमीन रहेको छ। बज्रबाराही र टीकाभैरव मन्दिर रहेको ठाउँमा होमस्टे सञ्चालनको पर्याप्त सम्भावना रहेको पन्थीले बताए।
 
१०) कार्यविनायक नगरपालिका (भैसेपाटी क्षेत्र)
रत्नपार्कबाट भैँसेपाटी ८ किलोमिटर मात्रै टाढा छ। जावलाखेल, एकान्तकुना चक्रपथ हुँदै भैँसेपाटीसम्म २२ मिटर फराकिलो बाटो प्रस्तावित छ। कतै बनिसकेको छ भने कतै बन्ने क्रममा रहेको छ।
 
स्थानीय स्तरमै खानेपानीका मुहान पनि छन्। यहाँ स्नातकसम्म पढाइ हुने कलेज रहेको नगरपालिकाकी कार्यकारी प्रमुख लक्ष्मी पाण्डेले बताइन्।
 
खुल्ला ठाउँ प्रशस्तै भएको यो क्षेत्रमा खेती गर्न पनि सजिलो छ। केही वर्षअघिदेखि नै बस्ती विस्तार भएको कारण भैँसेपाटी यातायातका दृष्टिले पनि उपत्यकाको सुगम गन्तव्यमा पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell