PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

​देह व्यापारको मुद्दामा रातभर सुनुवाइ : २१२ पृष्ठको फैसला, ९ दोषी ठहर



पहिलोपोस्ट

​देह व्यापारको मुद्दामा रातभर सुनुवाइ : २१२ पृष्ठको फैसला, ९ दोषी ठहर

अदालतको इजलास सामान्यत: ६-७ घन्टासम्म लाग्ला। रात्रिकालीन इजलासको अभ्यास भएकोमा पनि राति ८ बजेपछि इजलास राख्ने प्रचलन कमै पाइन्छ। नेपालमा पनि प्रस्तावित रात्रिकालीन इजलास ८ बजेसम्म नै हो।
 
तर, मुद्दाको गम्भीरता र न्यायाधीशको इच्छाशक्ति भएमा इजलास रातभरि नै चल्ने एक उदाहरण बनेको छ– भारत छत्तीसगढको एक विशेष अदालत।
 
देह व्यापारको एक मुद्दामा छत्तीसगढको अदालतमा रातभर सुनुवाइ भयो। संगठित अपराधसम्बन्धी उक्त मुद्दामा अदालतले २१२ पृष्ठको आदेश लेख्दै ११ मध्ये ९ अभियुक्तलाई दोषी ठहर गर्‍यो। 
 
०००
मुद्दा आदिवासी नाबालिकाहरुलाई देह व्यापारमा लगाउने र उनीसँग नाजायज सम्बन्ध राखेको सम्बन्धी थियो।
 
रातभरको अदालती प्रक्रियाबाट अभियुक्तलाई जेल सजाय सुनाइँदा बिहान भएको थियो। मुद्दाको सुनुवाइ सुरु भएपछि मुद्दासँग सम्बन्धित न्यायाधीशसहित अदालतका कर्मचारी, प्रहरी रातभर अदालतमै रहे।
 
विशेष सरकारी अभियोजक रञ्जना दत्ताका अनुसार ‘कोरबा जिल्लाको विशेष अदालतले मुद्दामा २१२ पृष्ठको फैसला लेखेको छ। यसमा ७ अभियुक्तलाई दोषी ठहर गर्दै आजीवन कैदको सजाय सुनाएको छ। अन्य दुईलाई १४ र १० वर्षको कैद सजाय सुनाएको छ।’
 
सजाय पाएका मध्ये तीन जना महिला छन्।

प्रहरीले कोरबा जिल्लाको उरगा इलाकामा २०१५ जुन ९ मा नाबालिका आदिवासी बालिकाहरुलाई नाजायज सम्बन्ध राखी देह व्यापारमा लगाएको आरोपमा ११ जनाको गिरोह पक्राउ गरेको थियो। विशेष अदालतले मुद्दाका दुई अभियुक्तलाई सफाइ दिएको छ। सफाइसँगै उनीहरु रिहा भएका छन्। तीन महिलासहित ९ जनालाई दोषी ठहर गरेको हो।
 
काम लगाइदिने बहानामा गिरोहले बालिकाहरुलाई गाउँबाट ल्याई देह व्यापारमा लगाउने गरेको प्रहरीको दाबी थियो। गिरोहमा ११ मध्ये तीन महिला सदस्य थिए।
 
छत्तीसगढ हाइकोर्टका अधिवक्ता वरुण शर्माले ‘अदालतले कडाइका साथ सुनाएको यो फैसला अन्यका लागि पनि नजीर हुन सक्ने' बताएका छन्। बिबिसी हिन्दीबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell