PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

वनरक्षक शाही हत्या प्रकरण : ६ अभियुक्त पुर्पक्षका लागि थुनामा



पहिलोपोस्ट

वनरक्षक शाही हत्या प्रकरण : ६ अभियुक्त पुर्पक्षका लागि थुनामा

ताप्लेजुङ : ताप्लेजुङको खोक्लिङमा गत महिना भएको वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका मुख्य अभियुक्त मानिने सबिन लिम्बूसहित ६ जना विरुद्ध जिल्ला अदालत ताप्लेजुङले थुनछेक आदेश जारी गरेको छ। 

महिना दिनअघि हत्या गरिएका वनरक्षक शाहीको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका सबिन लिम्बूसहित ६ जनालाई पुर्पक्षका लागि बिहीबार थुनामा राख्न आदेश जारी गरिएको हो। 

जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले खोक्लिङ–८ का सबिनसहित दावा शेर्पा, चेतबहादुर गुरुङ, कृष्ण भनिने सार्के गुरुङ, नन्दराम गुरुङ र वीरबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको हो। 

सामुदायिक वनको स्रोत सर्वेक्षण गर्नका लागि बोलाएर वनरक्षकको हत्या भएपछि प्रहरीले मुख्य अभियुक्त भनिएका सबिनसहित १५ जनालाई निगरानीमा राखेर अनुसन्धान गर्दै आएको थियो। नियन्त्रणमा रहेका १५ जनामध्ये खोक्लिङ–८ का पूर्णबहादुर लिम्बूलाई भने सादा तारेखमा छाडिएको छ भने तोयानाथ लिम्बूलाई रु ५० हजार धरौटी माग गरेको जनाइएको छ। 

यस्तै, विष्णुुलाल भनिने हरि पन्त, दलबहादुर लिम्बू, पदम गुरुङ र लालबहादुर लिम्बूलाई जनही ३० हजार धरौटी माग गरिएको छ भने ताप्लेजुङ हाङदेवा–५ का रामबहादुर लिम्बू, ताप्लेजुङ नगरपालिका–६ का देउकला मादेन लिम्बू र रिया भनिने सोनिसा लिम्बूलाई जनही ४० हजार रुपैँया धरौटी माग गरेको अदालतले जनाएको छ। 

जाजरकोट जिल्लाको दशेरा गाविस–८ मा घर भई विगत दुई वर्षदेखि वनरक्षकमा कार्यरत रहेका शाहीको गत पुस १७ गते कार्यस्थलमा नै बीभत्स हत्या भएको थियो। खोक्लिङको ओइराखुस्थित बाघथला सामुुदायिक वन समूहले सामुुदायिक वनको स्रोत सर्वेक्षणका लागि जिल्ला वन कार्यालयलाई अनुरोध गरेपछि जिल्ला वन कार्यालयले वनरक्षक शाहीलाई सर्वेक्षणका लागि खोक्लिङ पठाएको थियो। 

निजी र सामुुदायिक वनका विषयमा भएको विवाद साम्य गर्न खोजिरहेका बेला सोही स्थानमा नै शाहीमाथि सबिन लिम्बूले नजिकै रहेका दावाको साथबाट खुकुरी झिकेर प्रहार गरेको प्रहरीको भनाई छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell