PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

​तीन करोड ३८ लाख रुपैयाँको लागतमा विद्याश्रम निर्माण सुरु



पहिलोपोस्ट

इलाम : भारतीय राजदूतावासको सहयोगमा इलाम बरबोटे–१ तोरीबारीमा रु तीन करोड ३८ लाखको लागतमा विद्याश्रम भवन निर्माण सुरु भएको छ। 

दूतावासको सहयोगमा सप्तमाई गुरुकुल विद्याश्रममा चारतले २४ कोठे भवन निर्माण सुरु भएको हो। भवन अभावमा टहरामा चलिरहेको उक्त विद्याश्रममा भवन निर्माणका लागि भारतीय दूतावासले आर्थिक सहयोग गरेको हो। इलाम सदरमुकामस्थित बिरूवा कन्स्ट्रक्सन भगवती निर्माण सेवा जेभीले जिम्मा पाएको विद्यालयका प्रधानाध्यापक भोगेन्द्र दाहालले जानकारी दिए। 

विसं २०६५ सालमा स्थापित विद्याश्रममा बाल कक्षासहित १ देखि १० कक्षासम्म पठनपाठन हुने गरेको छ। एकसय २० विद्यार्थीमध्ये आवासीयरूपमा अध्ययन गर्ने विद्यार्थी ७० जना छन्। व्यवस्थित भवन नहुँदा विद्यार्थी टहरामा अध्ययन गर्न बाध्य छन्। ‘ठूलो पानी पर्दा, चर्को घाम लाग्दा र हुरीबतास चल्दा पठनपाठन नै रोक्नुपर्ने अवस्था थियो’, प्रधानाध्यापक दाहालले भने ‘भवन बन्ने भएपछि चिन्ता हटेको छ।’

स्थापनाकालमा सदरमुकामस्थित माईस्थान मन्दिरमा सञ्चालन गरिएको कक्षा केहीपछि बरबोटेमा सारिएको हो। स्थानीयस्तरका दाताबाट रकम सङ्कलन गरी विद्याश्रमले १७ रोपनी जग्गासमेत खरिद गरेको छ। 

संस्कृत वाङ्मय अध्ययनका लागि स्रोतकेन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्रले विद्यालय सञ्चालन गरेको हो। ‘जमिनको व्यवस्था गरेपनि भवनको अभावले समस्यामा थियौँ’, केन्द्रका उपाध्यक्ष गोविन्द पौडेलले भने ‘दूतावासको सहयोगले थप हर्षित भएका छौँ।’ 

इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विद्याश्रमको बुधबार शिलान्यास गरेका हुन्। १५ महिनापछि निर्माण सम्पन्न हुने भवन आवासीय सुविधासहितको हुने बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell