PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

कारागारमा क्षमताभन्दा बढी कैदी भएपछि त्रिपालमा बास



रासस

कञ्चनपुर : कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी भएपछि त्रिपालमा राख्ने व्यवस्था मिलाइएको छ।
 
कारागारको क्षमता ९५ जना भए पनि २६० जना कैदीबन्दीलाई राखिएको छ। अहिले कारागारमा २४८ पुरुष, १२ जना महिला कैदीबन्दी र दुई नाबालक छन्।
 
कारागारमा पुरुष कैदी ७० र महिला कैदीबन्दी २५ राख्ने क्षमता रहेको छ। 'क्षमताभन्दा बढी भएका कैदीबन्दीलाई कारागारभित्रै रहेको मैदानमा त्रिपाल टाँगेर राख्ने व्यवस्था गरेका छौं,’ जेलर श्यामराज भट्टले भने। उनका अनुसार अन्य कैदीबन्दीलाई ग्यालरी, टहरामा राखिएको छ।
 
क्षमताअनुसारका कैदीबन्दीका लागि पुग्ने गरी शौचालय र खानेपानीका धाराको व्यवस्था रहेकाले बढी कैदीबन्दी थपिँदा शौचालय जान र पानी थाप्नसमेत लाइनमा बस्नुपर्ने अवस्था रहेको उनले बताए।
 
कारागार भवन धेरै पुरानो भएको र मर्मतसम्भार नहँुदा भत्किएर दुर्घटना निम्तिने खतरासमेत रहेको छ। २०२३ मा निर्माण भएको यस कारागारको पर्खालमा लगाइएका इँट्टासमेत खिइएर झर्न थालेका छन्।
 
सहरी विकास विभाग डिभिजन कार्यालयमा कारागारको नयाँ भवन निर्माण र खानेपानीका लागि बोरिङ जडान गर्न माग गरिएको जेलर भट्टले बताए। शौचालय निर्माणका लागि जिल्ला विकास समितिसँग माग गरिएको उनको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell