
दमक : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन्।
आज झापाको दमकमा एमाले प्रदेश नम्बर १ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचन गर्ने भन्दै निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाए।
समयमै निर्वाचन नभए प्राप्त अधिकार नै धरापमा पर्ने चर्चा गर्दै उनले एमाले कुनै पनि हालतमा निर्वाचन पर धकेल्ने कुनै पनि गलत कार्यविरुद्ध जाइलाग्ने चेतावनी दिए।
सरकारले संविधान संशोधनको बखेडा झिकेर निर्वाचन पर धकेल्न खोजेको उनको टिप्पणी थियो। 'सरकार हामीसँग निर्वाचन गर्ने भन्छ अनि मधेसीसँग संशोधन पास गरेर मात्र गर्ने भनेर दोहोरो चरित्र देखाएर विचित्र रुपमा प्रस्तुत भएको छ,' उनले भने।
निर्वाचन हुने नदिने सबै चालबाजी विरुद्ध एमाले जिम्मेवार ढङ्गले शसक्त रुपमा प्रस्तुत हुने भन्दै अध्यक्ष ओलीले माघ महिनाभित्रमा निर्वाचन घोषणा नगरिए मुलुकमा राजनीतिक सङ्कट आउने दाबी गरे।रासस