PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कांग्रेस नेता पौडेलले गरे आफ्नै सरकारको आलोचना, भन्छन्- 'अन्तै बहकिएर काम छैन'



पहिलोपोस्ट

कांग्रेस नेता पौडेलले गरे आफ्नै सरकारको आलोचना, भन्छन्- 'अन्तै बहकिएर काम छैन'

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नै सरकारको आलोचना गरेका छन्। नेपाल सांस्कृतिक संघको दोस्रो महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सरकारकै ढिलाइका कारण संविधान कार्यान्वयनमा समस्या आउने बताए।
 
'चैतमा भनेको स्थानीय चुनाव बैसाखमा, फेरि क्याबिनेटले जेठ १० सम्ममा भन्ने निर्णय गरेको छ,' उनले भने, 'संविधान कार्यान्वयन भएन भने यो पुस्ताको भविष्य अन्योलमा पर्छ। देश कता जाने डरमर्दो स्थिति छ।'
 
अन्तअन्तै बहकिएर स्वार्थपूर्तिमा लागियो भने युवाहरु नसँगालिने र देश नै अप्ठेरोमा पर्न सक्ने उनले खतरा औंल्याए। गणतन्‍त्र, संघीयता र समावेशीलाई सुनिश्चिततामा लैजान चुनाव एक मात्र विकल्प रहेको भन्दै उनले विकल्प खोज्नु नै देशलाई अनिश्चिततामा धकेल्नु रहेको बताए।
 
संविधान संशोधनमा आफूहरु प्रतिबद्ध रहेको भन्दै नेता पौडेलले भने, 'यसमा एमालेको वा मधेसी मोर्चाको अडानले उपलब्धि खत्तम पार्छ। त्यसैले दुवै पक्ष जिम्मेवार हुनैपर्छ।'
 
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अइसकेकाले विवाद सकेर इमानदारपूर्वक चुनाव लड्न पनि उनले सबैलाई आग्रह गरे। 'सकिएन भने स्थानीय निकायकै भए पनि चुनाव गरौं। तर चुनावको विकल्प नखोजौं,' नेता पौडेलको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell