PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

‘लाला ल्यान्ड’ हेरिसकेपछि नेपाली निर्देशकहरु के भन्छन्?



पहिलोपोस्ट

‘लाला ल्यान्ड’ हेरिसकेपछि नेपाली निर्देशकहरु के भन्छन्?

काठमाडौं : यस वर्षको अस्करमा १४ विधामा मनोतीत फिल्म 'लाला ल्यान्ड'लाई शुक्रबार काठमाडौंमा प्रदर्शन गरिएको छ। मूभिमान्डु र एभरेस्ट फिल्म एकेडेमीले फिल्म देखाए। फिल्म हेरिसकेपछि समीक्षक, निर्देशक, प्राविधिक र विद्यार्थीबीच बहस चलाइयो।
 
बर्लिन फिल्म फेस्टिभलबाट स्कोलरसिप जितेका तन्नेरी पटकथा लेखक राजन कठेतले सरल विषयवस्तुमा कथा भन्ने फिल्म स्टाइललाई नेपाली निर्देशकले सिक्नुपर्ने बताए। ‘हामीले सरल कुरामा विश्वास गर्नु आवश्यक छ जसलाई लाला ल्यान्डले चित्रण गरेको छ,’ उनले भने।
 
पाका निर्देशक एवं गीतकार राजेन्द्र सलभले नेपालको दोहोरी संस्कृतिलाई लाला ल्यान्डले फलो गरेको बताए। ‘हलिउडले त्यसलाई म्युजिकल ड्रामा नै किन नभनोस्ऽ’ उनले भने, ‘हाम्रा लागि यो दोहोरी नै हो। बरु,हामीले दोहोरीलाई म्युजिकल ड्रामामा रुपान्तरण गर्नुपर्छ।’
 
निर्देशक ऋषि लामिछानेले गीतलाई मनोरन्जन र खाली ठाउँ भर्न मात्र लिइने बलिउड र नेपाली प्रवृत्ति गलत रहेको बताए। ‘लाला ल्यान्डबाट संगीत द्धन्द्धको आवश्यक तत्वहो भन्ने कुरा बुझिएको छ,’ उनले भने, ‘आज म सिक्न आएको हुँ। यस्ता फिल्मले हामीलाई जान्न र बुझ्न मद्दत गर्छन्।’
 
समीक्षक विष्णु शर्माले मोडरेट गरेको सेसनमा एकेडेमीका विद्यार्थीले पटकथा, छायांकन, सम्पादन, रङ संयोजन र ध्वनि मिश्रण गजब लागेको बताए। नेपाली सिनेमा घरमा यसपटक अस्करको बेस्ट फिल्म विधामा मनोनीत फिल्म नलाग्ने भएपछि मूभिमान्डुले जमर्को गरेको सम्पादक सोनिया मर्सानीले बताइन्।
 
उनका अनुसार मुनलाइट, म्यानचेस्टर बाइ द सी, लाइन, ज्याकी, साइलेन्स, अराइभल पाइपलाइनका फिल्म हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell