काठमाडौं : नेपाल टेलिकमले आजदेखि प्रिपेड ग्राहकका लागि पनि फोरजी सेवा दिने भएको छ। नेपालमा बहुप्रतिक्षित रहेको फोरजी सेवा टेलिकमले गत पुष १७ गतेबाट पोस्टपेडमा सफ्ट लन्च गरी सुरुवात गरेको थियो।
टेलिकमको १३ औं वार्षिकोत्सवको अवसरमा प्रिपेड ग्राहकलाई पनि फोरजी सेवा सुचारु गर्न लागेको टेलिकम प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्। टेलिकमले पोष्टपेडका ग्राहकले प्रोमोसनल अफरका रुपमा फोरजी प्याकेजका लागि निशुल्क चार जिवी डेटा दिएको थियो।
उपभोक्ताले सुरुवातमा ३२ दशमलव ४ एमबिपिएस गतिमा इन्टरनेट चलाउन पाउनेछन्। आजदेखि टेलिकमले व्यावसायिक रुपमा फोरजीको प्याकेज तथा अफरल्यउने बैद्यले बताइन्। व्यावसायिक तरिकाले गएपछि फोरजीको गति १०० एमबिपिएस सम्म हुने उनले बताइन्। अहिले टेलिकमको थ्रिजी अधिकतम १२ एमबिपिएसको गतिमा चल्छ।
त्यस्तै फोरजी एलटिइमा ४२ एमबिपिएसको गतिमा डाउनलोड गर्न सकिन्छ भने २५ एमबिपिएसको गतिमा डेटा अपलोड गर्न सकिन्छ। तर टेलिकम अपरेटरअनुसार यो स्पिडमा तलमाथि हुन्छ।
टेलिकमले प्रिपेड तथा पोष्टपेडमा कहाँकहाँ फोरजी चल्ने हो त्यसको बारेमा कार्ययोजना भने सार्वजनिक गरेको छैन। बैद्यले पोष्टपेडमा जस्तो प्रिपेडका ग्राहकलाई पनि यसअघि दिइँदै गरेको चार जिबी डेटा हुनसक्ने बताइन्।
स्रोतहरुका अनुसार, प्रिपेडमा चल्ने फोरजीमा पनि केही दिनसम्म स्किम दिइने टेलिकमको योजना छ। यतिउति भन्नेचाहिँ अझैसम्म निर्णय भइसकेको छैन।