PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

कन्काइ उच्च बाँध निर्माण नहुँदा जनता निराश, सर्वेक्षण गरिएको १४ वर्ष बित्दा पनि काम अघि बढेन



पहिलोपोस्ट

कन्काइ उच्च बाँध निर्माण नहुँदा जनता निराश, सर्वेक्षण गरिएको १४ वर्ष बित्दा पनि काम अघि बढेन

भद्रपुर : 'कृषक खुसी हुन नसके देश समृद्धितर्फ जान नसक्ने अवस्था हुँदाहुँदै पनि कन्काइ उच्च बाँध निर्माण नहुनु दुःखद हो'- भद्रपुरका एक कृषकको भनाइ हो यो।
 
सिँचाइ र विद्युत् उत्पादन दुवैका दृष्टिकोणले उच्च सम्भावना बोकेका झापाको मध्यभागबाट बग्ने कन्काइ नदीमा उच्च बाँध निर्माण गर्ने कुरा ४० वर्षदेखि उठ्दै आएको र पटक/पटक सम्भाव्यता अध्ययन एवं सर्वेक्षण भइसक्दा पनि हालसम्म यसबारे कुनै काम अगाडि बढ्न सकेको छैन।

पछिल्लो समयमा नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा सर्वेक्षण गरी कन्काई उच्च बाँधको निर्माणबाट झापा जिल्लामा थप ६७ हजार ४५० हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्‍याउन सक्ने र करिब ६० मेगावाट विद्युत उत्पादन गर्न सकिने जनाएको थियो। तर उक्त सर्वेक्षण गरिएको १४ वर्ष बितिसक्दा पनि अहिलेसम्म काम बढ्न सकेको छैन।

हाल सोही स्थानमा कन्काइ सिँचाइ योजना सञ्चालनमा छ र यस योजनाबाट कन्काइ नदीको पश्चिममा आठ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ। नदी आसपासका जग्गाजमीन पनि आकासे पानीमाथि निर्भर छन् र करोडौँ क्युसेक पानी त्यतिकै खेर गइरहेको छ।

सिँचाइ सुविधा र विस्तारसँगै विद्युत् उत्पादनले पूर्व क्षेत्रमा रोजगारी सिर्जना, उद्योग र व्यापार क्षेत्रमा पनि ठूलो योगदान पुर्‍याउने स्थानीयवासीको विश्वास छ।
 
सिँचाइ विकास डिभिजन कार्यालय झापाका अनुसार कन्काइ उच्च बाँध निर्माण भएमा अन्न उत्पादनले यस क्षेत्रलाई आत्मनिर्भर बन्न सघाउँछ, त्यसैले यो योजना जतिसक्दो चाँडो कार्यान्वयन गर्नुपर्दछ।
 
करिब एक सय ७८ वर्गमिटर प्रतिसेकेन्ड पानी सिँचाइमा प्रयोग गर्न सकिने यस योजनाबाट मेची नदीदेखि पश्चिममा रतुवा खोलासम्मका लाखौँ कृषक लाभान्वित हुने सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीले जानकारी दिए।
 
पूर्व–पश्चिम राजमार्गदेखि ४ दशमलव ५ किलोमिटर उत्तर कन्काई नदीमा निर्माण गरिने ८५ मिटर अग्लो बाँधको सहयोगमा ९२ करोड ५० लाख वर्गमिटर पानी भण्डारण गर्न सकिनेछ।
 
सर्वेका क्रममा परियोजना निर्माणमा करिब रु २४ अर्ब लाग्ने अनुमान गरिएको थियो। परियोजनाबाट हुने विद्युत् उत्पादन र सिँचाइले हुने उत्पादन वृद्धिले दुई वर्षमै उक्त लागत उठाउन सकिने वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले बताए।
 
यसवर्ष झापामा कुल रु ४४ अर्ब तीन करोड ७२ लाख मूल्य बराबरको खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीको उत्पादन भएको छ। यहाँ खेतीयोग्य ९० हजार हेक्टर जग्गामध्ये ३९ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ।
 
उच्च बाँधको निर्माणबाट वर्षैभरि नियमित पानीको स्रोत उपलब्ध हुनेछ र यसबाट हालको कृषि उत्पादनमा क्रान्ति नै आउनसक्ने डिभिजन प्रमुख तिवारीको भनाइ छ।
 
शिवगन्ज– ४ का कृषक हरिशरण नेपाल भन्छन्, 'यो आयोजना निर्माण गर्ने हल्ला सुनेको वर्षौं भइसक्यो, तर सरकारले महत्त्व नदिनु दुखद हो। हामी यो आयोजना जतिसक्दो चाँडो निर्माण होस् भन्ने चाहन्छौं।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell