PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

टेलिफोन सुरुवातको १०१ वर्ष : भारतबाट तार तानेर यसरी चलाइएको थियो टेलिफोन



उमेश पौडेल

टेलिफोन सुरुवातको १०१ वर्ष : भारतबाट तार तानेर यसरी चलाइएको थियो टेलिफोन

काठमाडौं : नेपालमा टेलिफोन सेवा भित्रिएको १०० वर्ष नाघेको छ। सन् १९१६ मा काठमाडौँ उपत्यकामा पहिलो टेलिफोन जडान भएको थियो। भारतको रक्सौलबाट खुला ट्रङ्क तार काठमाडौँसम्म तानेर उक्त टेलिफोन चलाइएको थियो।
 
त्यसको १९ वर्षपछि राजदरबारभित्र २५ वटा अटोमेटिक एक्सचेञ्ज लाइन जडान गरियो। सन् १९५० मा टेलिग्राम सर्भिस स्थापना भयो। देशका अन्य भेगमा पनि खुला ट्रङ्क तार मार्फत टेलिफोन विस्तार हुन थाल्यो। धनकुटा, पाल्पा लगायत स्थानमा यसरी टेलिफोन सेवा पुर्‍याइएको थियो।
 
सन् १९५५ मा बल्ल उपत्यकाका सर्वसाधारणको घरमा टेलिफोन लाइन जडान सुरु भयो। यो सेवा बिस्तारै राजधानी बाहिर पनि जान थाल्यो। सन् १९९९ मा नेपाल दूरसञ्चार संस्थानले पहिलो पटक पोष्टपेड मोवाइल सेवा भित्र्यायो। महङ्गो र सिमित संख्यामा वितरण गरिएको कारण यो सेवा पनि आम जनताको पहुँचमा पुगेको थिएन।
 
सन् २००३ मा संस्थानले जिएसएम प्रिपेड मोवाइल सेवा भित्र्यायो। यसले सर्वसाधारणको गोजीमा फोन बोकेर हिड्ने रहर केही हदसम्म पूरा गर्दै थियो। त्यसको एक वर्षमै सरकारले आफ्नो स्वामित्वको नेपाल दूरसञ्चार संस्थानलाई कम्पनीमा रुपान्तरण गरिदियो। २०६० माग २२ मा संस्थानबाट नेपाल टेलिकम कम्पनीमा रुपान्तरण भएपछि मात्र तिब्र रफ्तारमा टेलिफोन सेवा आम जनताको पहुँचमा आएको हो।
 
सेवा सुरु भएको सताब्दी नाघे पनि टेलिकमले कम्पनीमा रुपान्तरण भएको दिनलाई आफ्नो वार्षिकोत्सवको रुपमा मनाउँदै आएको छ। यही क्रममा नेपाल टेलिकम आज १३औँ वार्षिकोत्सव मनाउँदैछ।
 
पछिल्लो १३ वर्ष नेपाल टेलिकमको व्यवसाय विस्तार देखि नाफासम्म स्वर्णकाल रह्यो। आर्थिक वर्ष २०६०/६१ मा कुल दुई अर्ब ४४ करोड रुपैयाँ बराबरको आय गरेको कम्पनीले गत आर्थिक वर्ष २०७२/७३ मा ४३ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो। यस मध्ये सबै खर्च कटाएर कम्पनीले १२ अर्ब १५ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो। आब २०६०/६१ मा कम्पनीको खुद मुनाफा ८१ करोड ८२ लाख रुपैयाँ थियो।
 
२०६० यताका १३ वर्षमा कम्पनीले २१ गुणा बढी व्यवसाय वृद्धि गर्न सफल भएको हो। कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ११ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ। गत आवको पुष मसान्तको तुलनामा त्यो ८० करोड रुपैयाँले बढी हो। पुषमा कम्पनीको खुद मुनाफा ८२ करोड रुपैयाँले बढेर चार अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
 
टेलिकमले ८ लाख ५९४ थान ल्यान्डलाइन फोन वितरण गरेको छ। कम्पनीको जिएसएम मोबाइलका ग्राहक एक करोड ३५ नाघेका छन्। १४ लाख ५६ हजारले सिडिएमए फोन लिएका छन्।
 
नेपालको समग्र टेलिकम बजारमा नेपाल टेलिकमले ४८ प्रतिशत हिस्सा ओगटेको छ भने डाटा इन्टरनेटमा ५४.७८ प्रतिशत बजार हिस्सा कम्पनीको छ।
 
डाटामा चौथो पुस्ताको फोर जी सेवाको अनुमति पाउने नेपाल टेलिकम मात्र हो। कम्पनीले १३ औँ बार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोवाइल ग्राहकलाई समेत फोर जी सेवा सुरु गरेको जनाएको छ। कम्पनीले सन् २००७ मा जिएसएम मोवाइलमा जिपिआरएस तथा थ्रिजी सेवाको सुरुवात गरेको थियो।
 
कम्पनीले २००५ सिडिएमए सेवा सुरु गरेपछि गाउँ गाउँसम्म टेलिफोन सेवा पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell