काठमाडौं : तीन वर्ष नाफा कमाएको आयल निगम जनवरीदेखि घाटामा जान लागेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि तीन वर्षमा निगमले कुस्त नाफा कमायो।
तेल आयातकर्ता कम्पनीले यो अवधिमा कमाए तर उत्पादक कम्पनीले गुमाए। तीन वर्ष आयात कम्पनीका लागि स्वर्णकाल बन्यो।तर अब तेल आयातकर्ता कम्पनीको स्वर्णकाल सकिन थालेको छ।
निगमका प्रवक्ता भानुभक्त खनाल भन्छन्, 'तेल आयातकर्ता कम्पनीको नाफाको दिन गएको देखिन्छ। अब नाफा होइन घाटा भएर समस्या आउने देखिइसकेको छ।' तीन वर्षको अवधि आयल निगमका लागि पनि स्वर्णकाल नै हो।
नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका पूर्व अध्यक्ष सरोज पाण्डेले तीन वर्षको नाफा कमाएको जस्तो अवस्था नरहने बताए। उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उचारचढाब देखिएको बताउँदै अमेरिका र रुसबीचको सम्वन्धले तेलको मूल्यमा प्रभाव पार्ने बताए।
'अन्तर्राष्ट्रिय बजारको आकंलन गर्न कठिन छ। तर तीन वर्षजस्तो स्वर्णकाल रहँदैन,' उनले भने, 'तेल आयातकर्तालार्इ समस्या पर्ने देखिरहेको छु। तर प्रतिब्यारल ८० डलरको हाराहारीमा रहेमा खासै ठूलो समस्या हुँदैन।'
तीन वर्षको अवधिमा निगमले ३६ अर्ब ८६ करोड ७० लाख रुपैयाँको ऋण तिरिसकेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढे अनुसार मूल्य नबढेपछि निगमले तेल ल्याउन २०६४ असोज २९गते अर्थमन्त्रालयबाट ५० करोड रुपैयाँ ऋण लिएको थियो।निगमले लगातार तेल ल्याउन ऋण बढ्दै २०७१ पुस २३ गते ३६ अर्ब ८६ करोड ७० लाख रुपैयाँ पुगेको थियो।
तर अब जनवरीमा तीन करोड घाटा ब्योहोरेको निगम फेब्रुअरीमा ४८ करोड नोक्सानीमा जाने प्रक्षेपण गरिएको छ। निमगले फेब्रुअरीको १५ दिनको अवधिमा २४ करोड ६२ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ। पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेपछि निगम ओरालो बाटोतर्फ लागेको हो।
फेब्रुअरीमा इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्य अनुसार निगमलार्इ डिजलमा प्रतिलिटर ३ रुपैयाँ १७ पैसा नोक्सानी छ।मुलुकभित्र सबैभन्दा बढी डिजलको खपत हुन्छ।पछिल्लो तथ्यांक अनुसार डिजलको मासिक खपत १ लाख २० हजार किलोलिटर छ।यो आधारमा निगमलार्इ डिजलबाट मात्रै मासिक घाटा ३८ करोड रुपैयाँ हुनेछ।
यो वाहेक सबैभन्दा बढी घाटा खाना पकाउने ग्यासमा छ। निगमलार्इ एक सिलिन्डर ग्यासमा १ सय ६२ रुपैयाँ नोक्सानी छ।निगमलार्इ ग्यासबाट मात्रै ३० करोड रुपैयाँ भन्दा बढी मासिक घाटा हुनेछ।
यो वाहेक अरु पेट्रोलियम पदार्थमा भने निगम नाफामा छ।निगमलार्इ पेट्रोल प्रतिलिटर ५६ पैसा नाफा छ। यो वाहेक मट्टितेलमा लिटरमा १३ रुपैयाँ ४० पैसा नाफा छ।पेट्रोलको मासिक माग २६ हजार किलोलिटर मात्रै छ भने मट्टितेलको १ हजार ६ सय किलोलिटर मात्रै हो।
हवार्इ इन्धनमा पाँच रुपैयाँ ७७ पैसा नाफा छ। निगमले गत वर्ष मात्रै डेढ अर्ब कमाएको छ। मूल्य स्थिरीकरण कोषमा पनि रकम राखिएकोले तत्कालै तेल नै ल्याउन नसक्ने गरी ठूलो असर भने पर्दैन। तर निगमले अन्तर्राष्ट्रिय बजार हेरेर नाफा कमाउने दिन भने गएको पुष्टि गर्छ।
५६ डलर पुग्दैमा कसरी घाटा?
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ५६ डलर पुग्दा निगम कसरी घाटामा पुग्यो ? अन्तर्राष्ट्रिय बजारबाट ल्याइने कच्चा तेलको मूल्यमा सरकारदेखि आयल निगमले अतिरिक्त भार थपेका छन्।
चालु आर्थिक वर्षको बजेटमार्फत पेट्रोल,डिजल र हवार्इ इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बुढीगण्डकी जलविद्युत आयोजना निर्माणकालागि पूर्वाधार कर लगाइएको छ। यो वाहेक निगमले आफ्नो पूर्वाधार निर्माणका लागि भनेर फेरि अर्को पैसा असुलेको छ। पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ रकम असुलेको छ।
यो वाहेक हवार्इ इन्धनबाट प्रतिलिटर १० रुपैयाँ र ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ रकम निगमले उठाएको छ। यही अतिरिक्त रकमका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सामान्य बढोत्तरी हुँदा पनि निगम घाटामा गएको हो।
यो सरकारले असुल्ने वाहेकका पैसा हुन्। सरकारले राजस्व, सडक मर्मत कर लगायतका ठूलो रकम त्यहिँबाट असुल्छ।यो वाहेक प्रदुषण करका नाममा उपभोक्ताबाटै रकम असुली भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा उपभोक्तालार्इ ठूलो भार नपरोस् भनेर पेट्रोलमा प्रतिलिटर ५१ पैसा, डिजल र मट्टितेलमा ३९ पैसा, हवार्इ इन्धनमा ४३ पैसा र ग्यासमा प्रतिसिलिण्डर ६ रुपैयाँ ६३ पैसा उठाउने गरिएको छ।