PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

बिम्स्टेकको तीन तहको बैठक भोलिदेखि



पहिलोपोस्ट

काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) बैठक भोलिदेखि मङ्गलबारसम्म काठमाडौँमा हुँदैछ।
 
बिम्स्टेकका अध्यक्ष नेपालले उक्त क्षेत्रीय सङ्गठनको सत्रौँ संयुक्त कार्यदलको बैठक भोलि, २४ गते सत्रौँ उच्च पदाधिकारी तयारी बैठक र २५ गते सदस्य देशका विदेश मन्त्रालयका सचिवको सत्रौँ आयोजना गरेको हो।

भोलि र पर्सी हुने संयुक्त कार्यदल र उच्च पदाधिकारी तयारी बैठकको नेतृत्व नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गर्ने छन्।

माघ २५ गते हुने सदस्य मुलुकका परराष्ट्र/विदेश/बाह्य मामिला मन्त्रालयका सचिव सम्मिलित बैठकको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा बिमस्टेकले प्राथमिकता तोकेका सामाजिक–आर्थिक विकासका १४ क्षेत्रमा भएका प्रगतिको समीक्षा हुनेछ भने सचिवस्तरीय बैठकमा बिम्स्टेकको चौथो शिखर सम्मेलन यसै वर्ष नेपालमा आयोजना गर्नेबारे मितिसमेत निर्धारण हुनसक्ने सम्भावना छ।

त्यसैगरी बैठकमा बिम्स्टेकको सचिवालयसँग सम्बन्धित वित्तीय तथा प्रशासनिक विषयका साथै बिम्स्टेक संयन्त्रले प्रस्तुत गरेका प्रतिवेदनको समीक्षा, कार्यान्वयनको स्थित र भावी कार्ययोजनाबारे छलफल हुने उक्त मन्त्रालयले जनाएको छ।

भारतको गोवामा केहीसमय अघि बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरूको बैठकले सन् २०१७ मा चौथो शिखर सम्मेलन नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो।
 
नेपाल, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्याण्ड र श्रीलङ्का सदस्य रहेको बिम्स्टेक बैठकमा भाग लिन ती मुलुकका उच्च अधिकारी राजधानी आइसकेको महाशाखा प्रमुख भट्टराईले बताए।
 
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीले भाग लिने छन्। सदस्य मुलुकबाट १० जनाभन्दा बढी सहभागी हुनेछन्।
 
बिमस्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell