बितेको तीन साता कनिकाका लागि कठोर थियो। चार्लीसँगको ब्रेकअप कनिकाका लागि पक्कै पनि सहज थिएन। कनिकाले यो घटनालाई सहज रुपमा लिन जति कोशिश गरे पनि सहज हुन सकेको थिएन। उसको मनमा चोट गहिरो थियो। उसले प्रेमका बारेमा जे सोचेकी थिई त्यो भ्रम साबित भएको थियो। चार्लीले जसरी ऊसँगको सम्बन्ध तोड्यो कनिकाका लागि त्यो स्वाभाविक थिएन। कनिकाका पापा–मम्मी चार्लीसँग सन्तुष्ट नै थिए। केटा जेन्युइन थियो। कनिकालाई मायाँ गर्थ्यो। तर, बाबुको निधनपछि उसको टोन पनि बदलियो र ट्यून पनि बदलियो।
चार्ली धेरैजसो परिवारमा नै केन्द्रित हुन लाग्यो।
आमाको चिन्ता थियो उसलाई। कनिकाबाट आमाको स्याहार–सुसार हुनु त सम्भव नै थिएन। चार्ली घरेलु पत्नीको खोजीमा थियो। उसकी आमाले उसलाई परिवारको कल्याण र निरन्तरता, इज्जत–प्रतिष्ठा, धन–सम्पत्ति जस्ता कुराहरुलाई जोडेर पत्नीको महत्व बताएकी थिइन्। ऊ त्यसैमा जोडिएको र अड्किएको थियो। उता, कनिका भने सोसलाइज लोग्नेको चाहना राख्दथी।
कनिका र चार्लीको ब्रेकअपमा अनौपचारिक केही थिएन। दुवै एक-अर्कालाई चाहन्थे। अहिले बाध्यताले छोड्दै थिए एक–अर्कालाई। उनीहरुको मुटुमा आवेग थियो होला। त्यो आवेग आँखाको डिलमा डबडबाएको थिएन। उनीहरु विछोडमा पनि कूल थिए। चार्ली भन्दै थियो, ‘हाम्रो सम्बन्ध यत्तिकै सकिने होइन।’ कनिकाको मनमा चार्लीका यी शब्दहरु बिझाइरहेका थिए। कति झुठा थिए ती शब्द। उसले किन ती अर्थहीन शब्दहरु बोलेको होला? घरमा दुलही भित्र्याइसकेपछि पनि मसँग प्रेमको नाटक खेल्ने इच्छा भएर हो कि? के सोचेको होला उसले? कनिकाका लागि यो आफ्नो सपनाको मृत्यु थियो। त्यसैले पनि ऊ अलिकति झिँझिएकी थिई।
चार्लीसँग फाइनल ब्रेकअपपछि ऊ सरासर घर आएकी थिई। सरासर आफ्नो कोठामा पसेर ऊ बिछ्यौनामा लम्पसार परी। उसलाई रुन मन लागेको थियो। चार्लीसँग बिताएको समयलाई यति छिट्टै बिर्सिनु सजिलो थिएन। बाहिरबाट हेर्दा कनिकाले चोट र पीडा पचाइसकेको अनुमान गर्न सकिन्थ्यो। वास्तविकता त्यस्तो थिएन। उसले आफ्नो मम्मीसँग सबै कुरा शेयर गरेकी थिई। मम्मीले उसलाई सम्झाएकी थिइन्। कनिकाको सपनाको मृत्यु भएको समाचार उसका पापाले पनि पाइसकेका थिए। घरमा कनिकालाई नर्मल बनाउन आवश्यक वातावरण बनिसकेको थियो। उसका मम्मी–पापाले छोरीको ध्यान यस्ता कुराबाट हटाउन उसलाई कतै घुम्न पठाउने विचार गरेका थिए।
राति डिनरका बेला कनिकाका पापाले भने, ‘जे भयो भयो। फर्गेट एभ्री थिङ। आई उड सजेष्ट यू टु गो समव्हेर जस्ट फर चेन्ज। तिमीलाई जहाँ जान मन लाग्छ।’
कनिकाले पापालाई जवाफ दिई, ‘थ्यांक्स पापा। बट आइ डण्ट वाण्ट टू ट्राभल। इट्स बेटर टू वर्क। आई ह्याभ सेभेरल एडिटोरियल असाइन्मेन्ट। सेभेरल इस्सूज टु राइट। यस्तो रमाइलो छाडेर कता जानु लखरलखर। पापा–मम्मी पनि जाने हो भने त आइ एम रेडी। एक्लै त नो वे।’
छोरीको कुरा सुनेर पापा–मम्मी दुवै खुशी भए। उनीहरु छोरीको मनबाट ट्रयाजेडी निकालेर उसलाई स्वाभाविक बनाउन चाहन्थे। तर उसको मनमा त्यस्तो केही देख्दै देखेनन् उनीहरुले। मनमा जे जस्तो आँधी उठे पनि कनिकामा दृढता थियो। पत्रकारितामा उसको कडा रुचिले उसलाई आत्माको अनुशासनमा बाँधेको थियो।
एउटा संसार भएन त के भो? संसारहरु बन्दै जाने कुरा हुन्। सृष्टिको निरन्तरता। चार्लीसँगको ब्रेकअपको अर्को पक्ष निकै घतलाग्दो थियो कनिकाका लागि। यसपछि ऊ एउटा स्वतन्त्र पंक्षी बनेकी थिई। उसका प्वाँखहरु बन्धनमुक्त थिए। ऊ नीलो आकाशमुनि विचरण गरिरहेकी थिई। उन्मुक्त।
बिहान ब्रेकफाष्ट टेबलमा कनिकाले मम्मी–पापालाई आफू आजैदेखि काममा जाने कुरा सुनाई। सुनेर उसका मम्मी–पापा खुशी भए। ब्रेकफाष्टपछि उसले आफ्नो पोर्टफोलियो उठाई। स्कूटीको साँचो लिई र अफिसतिर गुडी।
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)