PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

युवा स्वरोजगारका लागि सात करोडभन्दा बढी रकम भित्रिदै



पहिलोपोस्ट

तेह्रथुम : तेह्रथुमका विभिन्न सहकारीमार्फत युवा स्वरोजगार कोष केन्द्रीय कार्यालयले रु सात करोड कर्जा दिने भएको छ। स्वरोजगार कोषसँग कर्जा माग गरी प्रस्ताव पेस गरेका सहकारीको अनुगमन गर्दै कोषले जिल्लालाई रु सात करोडभन्दा बढी रकम युवालाई कर्जा दिने जनाएको हो।
 
जिल्लामा रहेर प्रस्ताव पेस गरेका दुग्ध, बहुद्देश्यीय, बचत तथा ऋण सहकारी सस्था गरी १८ वटाको अनुगमन गरिएको केन्द्रीय कार्यालयका अनुगमन अधिकृत चण्डीराज नेपालले बताए। अनुगमनपछि कोषका जिल्ला संयोजन तथा अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको समितिको सिफारिसमा प्रत्येक सहकारीले रु २० लाख देखि ५० लाखसम्म युवा स्वरोजगारको लागि रकम पाउने तेह्रथुमका कार्यक्रम संयोजक माधव दाहालले बताए।
 
यसबाट जिल्लामा रु सात करोडभन्दा बढी रकम भित्रिने भएको हो। सहकारीले कर्जा लिएर व्यवसाय गरी स्वरोजगार बन्नका लागि सेयर सदस्यलाई विना धितो रु ५० हजारदेखि रु दुई लाखसम्म ऋण दिनेछन्। यसको व्याज १२ प्रतिशत पर्ने र नियमित तिर्ने सदस्यलाई व्याजको ६० प्रतिशत अनुदान फिर्ता पाउने व्यवस्था रहेको तेह्रथुमका कार्यक्रम संयोजक दाहालले बताए।
 
युवा स्वरोजगार कोषले सहकारीको अनुगमन गर्दा सहकारीका विनियम र सहकारी विभागले तोकेका मापदण्डअनुसार सञ्चालन भएका सहकारी, नगरपालिकाको हकमा दुई वर्ष नाफा र गाविसको हकमा एक वर्ष नाफामा चलेका सहकारीलाई छनोट गरिएको थियो।
 
यसैगरी, नगरपालिकाको हकमा रु पाँच लाख र गाविसको हकमा रु तीन लाख सेयरपुँजी भएका सहकारीको छनोट गरिएको अनुगमन अधिकृत नेपालले बताए। सहकारीबाट रकम दिलाएर कृषि, सिलाइकटाइ, किराना पसल, साना व्यवसाय गरी स्वरोजगार बनाउने र विदेश जानबाट युवालाई रोक्ने स्वरोजगार कोषको उद्देश्य रहेको छ।
 
जिल्लामा दुग्ध, बहुद्देश्यीय, चिया, कृषि र बचत गरी दुई सयभन्दा बढी सहकारी रहेका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell