PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मृतक कैदीकी पत्नी भन्छिन्- 'पतिलाई काटेर मारे, अब यी बच्चालाई कसरी स्याहार्ने?'



राधेश्याम पटेल

मृतक कैदीकी पत्नी भन्छिन्- 'पतिलाई काटेर मारे, अब यी बच्चालाई कसरी स्याहार्ने?'

वीरगन्ज : माघ १७ गते काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका वीरगन्ज कारागारका कैदी राजन बानियाँको सुनियोजित हत्या भएको परिवारजनले आरोप लगाएका छन्।
 
परिवारजनले नेपाल पत्रकार महासंघ, पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाए। मृतक बानियाँकी पत्नी रजनीदेवीले पत्रकार सम्मेलनमा गत पुस १० गते क्रिसमसका दिन छुरा प्रहार गरी घाइते बनाउने योजनामा वीरगन्ज कारागारका नाइके दुर्गा पटेल, सहनाइके विदेशी साह र जिना मियाँको संलग्नता रहेको दाबी गरिन्।
 
वीर अस्पतालमा चिकित्सकहरूले उपचारको लागि अन्तै लैजान भन्दा पनि कारागार प्रशासनले कुनै चासो नदेखाउँदा बानियाको मृत्यु भएको परिवारजनको भनाइ छ।
 
वीरगन्ज–१३ घडीअर्वा निवासी राजन बानियाँलाई कारागारकै अर्का कैदीबन्दी पन्नालाल पण्डितले धारिलो चक्कु प्रहार गरी घाइते बनाएका थिए। चक्कु प्रहारबाट बानियाँको घाटीको नसा काटिएको थियो।
 
वीरगन्जमा उपचार सम्भव नभएपछि वीर अस्पताल पुर्‍याएकोमा त्यहाँ पनि उपचार सम्भव नभएपछि कारागार प्रशासनको अस्पताल सुन्धारामा केही दिन राखिएको थियो।
 
त्यहाँ अस्पताल प्रशासनले उपचारको लागि सक्दो प्रयास नगरेको परिवारजनको भनाइ छ। रजनीदेवीले कारागारभित्र पतिको गैरन्यायिक मृत्युमा अन्य व्यक्तिहरूको हात रहेकाले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छन्।
 
त्यस्तै, दोषीमाथि कडा कारबाई गरी पीडितलाई न्याय दिलाउन मृतक बानियाँका भाइ लालनबाबु बानियाले पत्रकार सम्मेलनमा आग्रह गरे।
 
घटनालगत्तै वीरगन्ज कारागारले चक्कु प्रहार गर्ने कैदीबन्दी पन्नालाल पण्डितलाई भीमफेदी कारागारमा स्थानान्तरण गरेको छ। मृतक कैदीको दुई छोरा र एक छोरी गरी तीन सन्तान छन्।
 
‘मेरो पतिलाई काटेर मारे, अब यी बच्चाहरुलाई कसरी स्याहार्ने,' मृतक पत्नी रजनीले भनिन्, 'मेरो त दुनियाँ नै सक्यो।’ उनले अधिकारकर्मीसँग न्यायको लागि माग  समेत गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell