PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

गजलको सँगालो 'आरन' लिएर आइन् अमला



पहिलोपोस्ट

गजलको सँगालो 'आरन' लिएर आइन् अमला

काठमाडौँ : अमला अधिकारीको गजलसङ्ग्रह ‘आरन’ आज राजधानीमा विमोचन गरिएको छ। गजलकार शीतल कादम्बिनी, रुपक वनवासी, रावत, आरनकी लेखिका अमला अधिकारी र शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले सामूहिक रुपमा विमोचन गरेका छन्। 

किताबमाथि बोल्दै कादम्बिनीले भनिन्, ‘अमलाका गजलले सत्तरीको दशकमा मात्रै के कुरा वषौँ वर्षसम्म प्रभाव छोड्न सक्छन्। उनका गजलमा गाउँ, खेती किसानी र महिलाका पीडा लेखिएको हुनाले विषयवस्तु हाम्रो जीवनकै छेउकुनाबाट टिपिएका हुन्। अमलाको आफ्नै सिग्नेचर रहेको र नेपाली साहित्यमा नयाँ आयाम थप्ने उनले बताइन्।

छलफलमा सहभागी अर्का गजलकार रुपक वनवासीले भने, ‘अमलाका गजल देखेर ईर्ष्या लाग्छ। यो मैले किन नलेखेको हुँला। यिनका गजलले नयाँखाले गजलको धार निर्माण गरेका छन्। सामाजिक विषय र सूक्तिमय शैलीले गर्दा यिनका गजलको प्रभाव छुट्टै छ। नारीहरुमध्ये उत्कृष्ट भन्यो भने पनि अत्युक्ति हुँदैन।’ गजल परम्परामा अग्रजको योगदान नभुल्ने हो भने यसअघिका राम्रा नारी हस्ताक्षरका माझमा अमला अझै उत्कृष्ट गजलका साथ आएकी उनले टिप्पणी गरे। 

कवि रावतले साठीको दशकपछिको समय नेपाली गजलको स्वर्णयुग रहेको भन्दै अमलाको गजल लेख्ने तरिका अरु धेरै गजलकारको भन्दा भिन्न र परिपक्व रहेको धारणा राखे। 'उनका हरेक सेर आफैमा मुक्त छन्। एउटा सेरको भाव बुझ्न सिङ्गो गजल पढिरहनु पर्दैन,’ उनको भनाइ थियो।

शिखा बुक्सले प्रकाशन गरेको ‘आरन’ को मूल्य १७१ रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell