
नेपाल-भारत सिमावर्ती क्षेत्रमा सञ्चालित सामुदायिक रेडियोमाथि भारतीय निर्वाचन आयोगका अधिकारीले अनुगमन शुरु गरेका छन्। उत्तरप्रदेशमा हुने चुनावमा नेपालतर्फका रेडियोलाई उम्मेदवारहरुले प्रचारमा प्रयोग गर्नसक्ने आशंकामा सुरक्षा अधिकारीले नेपाली रेडियोबाट प्रशारण हुने कार्यक्रमको निगरानी बढाएका हुन्।
बोर्डर नजिकै निर्वाचन क्षेत्र भएका उम्मेदवारहरुले नेपालका रेडियो मार्फत आफ्नो प्रचार शुरु गरेपछि भारतको पूर्वाञ्चल क्षेत्रमा जोडिएका क्षेत्र नजिकै नेपालमा प्रशारण हुने रेडियोका कार्यक्रममाथि निर्वाचन अधिकारीले अनुगमन गरिरहेको नवभारतटाइम्सले उल्लेख गरेको छ।
उत्तर प्रदेशको पूर्वाञ्चलका केही क्षेत्रमा नेपालबाट प्रशारण हुने रेडियो सुनिन्छ। सिद्धार्थनगरका एसपि राकेश शंकरले सामाजिक सञ्जालसँगै सिमावर्ती क्षेत्रका नेपाली रेडियोका कार्यक्रमको समेत अनुगमन भइरहेको बताए।
भट्टिमा बन्द हुने
उत्तरप्रदेशको चुनावको सुरक्षाबारे केही दिन अगाडि भारतीय सुरक्षा अधिकारीले नेपाली सुरक्षा अधिकारीसँग बैठक गरेका थिए । बैठकमा चुनावमा बोर्डर क्षेत्रमा सुरक्षा निगरानी बढाउने विषयसँगै नेपालतर्फको सिमामा रहेका रक्सि पसलबारे समेत छलफल भएको थियो।निर्वाचनमा मतदाता प्रभावित गर्न केही उम्मेदवारहरुले नेपालबाट ठुलो परिमाणमा रक्सि लैजाने तयारि गरेको सूचनाको आधारमा दुबै देशका सुरक्षा अधिकृतविच भएको छलफलमा नेपालले सिमावर्ती क्षेत्रमा रहेका भट्टि पसलमा निगरानी बढाउने र नेपालबाट भारतमा रक्सि लैजान कडाई गर्ने सहमती भएको नवभारतटाइम्सले उल्लेख गरेको छ।
मतदान हुने २ दिन अगाडिबाट उत्तरप्रदेशका रक्सि पसलहरु बन्द हुनेछ। सो समयमा नेपालतर्फको सिमावर्ती क्षेत्रमा सञ्चालित पसल बन्द गर्न नेपाली सुरक्षा अधिकारी सहमत भएको एसपि शंकरले बताए।
चुनावका लागि नेपालबाट हुनसक्ने रक्सिको तस्करी रोक्न बोर्डर क्षेत्रमा प्रहरी परिचालन समेत बढाइएको छ।
सांकेतिक फोटो :www.ulmd.co