
लिग टेबल लिडर चेल्सीले प्रिमियर लिग अन्तर्गत लण्डन डर्बी भिडन्तमा आर्सनललाई शनिबार ३-१ ले पराजित गरेको छ।
घरेलु मैदान स्टानफोर्ड ब्रिजमा शानदार जितसँगै चेल्सीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ।
चेल्सीको लागि पहिलो हाफमा मार्कोस अलोन्सोले गोल गरे भने दोस्रो हाफमा एडेन हाजार्ड र सेस फाब्रेगासले गोल थपे। आर्सनलका लागि इन्जुरी टाइममा सब्सिच्युट खेलाडी ओलिभर जिरुडले सान्त्वना गोल फर्काए।
यस सिजन उत्कृष्ट फर्ममा रहेको चेल्सीको यो १९ औं लिग जित हो।
जितपछि चेल्सीको २४ खेलबाट ५९ अंक भएको छ, जुन दोस्रो स्थानको टोटनहम र तेस्रो स्थानको आर्सनलभन्दा १२ अंकले बढी हो।
टोटनहमले शनिबारै घरेलु मैदानमा मिडल्स्ब्रोसँग खेल्दैछ। टोटनहम समान अंक रहेपनि गोलअन्तरमा आर्सनल पछि परेको हो।
यस्तै शनिबार चौथो स्थानको लिभरपुलले हल सिटीसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ।