
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेआम देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै हालतमा छोड्न नसकिने बताएका छन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राउत प्रकरणलाई सरकारले गम्भीर रुपमा लिएको बताए।
देश टुक्र्याउँछु भन्नेलाई कुनै पनि देशमा छुट नहुँने बताउँदै राउतमाथि कारवाही हुने उनले बताए । कार्यक्रममा प्रचण्डले भने ‘खुलेआम देश टुक्राउँछु भन्नेलाई दुनियाँको कुन सरकारले छुट दिएको छ? यो सम्भव छैन। हाम्रो राष्ट्रिय स्वाभिमानभन्दा ठूलो कुरा अरु छैन। देशलाई बिखण्डन गर्छु भन्नेलाई कुनै हालतमा छुट दिन सकिँदैन।’
राउतलाई पक्राउअघि गम्भीर रुपमा परामर्श गरिएको प्रधानमन्त्रीको दावी छ। पक्राउ प्रकरण संवेदनशील कदम भएकाले यसबाट सरकार पछि नहट्ने उनले बताए।
राज्यद्रोहको आरोपमा प्रहरीले राउतलाई गत बिहीवार जनकपुरवाट पक्राउ गरेको थियो। विशेष अदालतले राउतलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ।
अस्पतालबाट बच्चा चोरी हुनु संवेदनशील
प्रधानमन्त्रीले अस्पतालबाट बच्चा चोरी हुनु गम्भीर र सम्वेदनशील घटना भएको बताए। नारायणी उपक्षेत्रीय अस्पतालमा भएको उक्त घटनापछि सरकारले अनुसन्धान र कारवाहीको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिइसकेको उनले बताए। माघ ७ भित्रै तीनवटै चरणका निर्वाचन
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निर्वाचनबारे दुविधामा नपर्न आग्रह गरे। उनले माघ ७ भित्र तीनवटै तहको निर्वाचन हुने बताए। स्थानीय तह निर्वाचनका लागि कानुन पारित भइसकेका कारण निर्वाचन प्रक्रिया अघि बढ्ने उनले विश्वास व्यक्त गरे।स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमा कार्यदलको सुझाव प्राप्त भएपछि निर्वाचनको मिति तोकिने उनले बताए।
जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गरेपछि आउने मंसिरमा प्रादेशिक र संघीय तहको निर्वाचन गर्न सम्भव रहेको प्रधानमन्त्रीको भनाई छ।