PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रेस चौतारी पुरस्कार अर्याल र केसीलाई



रासस

इलाम : प्रेस चौतारी इलामले स्थापना गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०७३’ गणेश अर्याललाई प्रदान गरिएको छ। 

चौतारीको १९औँ स्थापना दिवसका अवसरमा शनिबार रु पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको हो। स्थापना दिवस कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले अर्याललाई दोसल्ला, प्रमाणपत्र र नगद प्रदान गरे। 

इलामको कोल्बुङ घर भएका अर्याल एक दशकयता पत्रकारितामा क्रियाशील छन्। ‘आँखा’ साप्ताहिकबाट पत्रकारिता सुरु गरेका अर्यालले ‘पावनभूमि’ साप्ताहिक हुँदै अहिले ‘पूर्वाञ्चल दैनिक’, ‘इलाम एफएम’, ‘रेडियो फिक्कल’लगायत सञ्चारमाध्यममा कार्यरत छन्। 

यस्तै, प्रेस चौतारी म्याग्दीले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार सुरत केसी सम्मानित भएका छन्। 
शनिबार आयोजित कार्यक्रममा रु पाँच हजार ५५५ राशिको पुरस्कार प्रदान गरिएको हो। केसी विसं २०५८ देखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। 

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष, ‘रुप्से’ दैनिकका प्रकाशक र ‘म्याग्दीकाली’ एफएमका सम्पादक केसीलाई नेकपा (एमाले)का प्रचार विभाग उपप्रमुख सूर्य थापा, सांसद् नवराज शर्मा र प्रजिअ राजुप्रसाद पौडेलले पुरस्कार प्रदान गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell