
एजेन्सी : मुस्लिम बाहुल्य रहेको देशबाट अमेरिकामा प्रवेशका लागि लगाइएको अस्थायी प्रतिवन्ध कार्यान्वयनमा रोक लगाउने अदालतको आदेश उपर अमेरिकी न्याय विभागले पुनराबेदनको माग गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनिक निर्णय अनुसार भएको उक्त आदेश अदालतले कार्यान्वयनमा रोक लगाएको थियो। अदालतको आदेश खारेजीको माग गर्दै न्याय विभागले अपिल गरेको हो।
गत शुक्रवार सियाटलका संघीय न्यायाधीश जेम्स् रोवर्टले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्प प्रशासनको निर्णय कार्यान्वयनमा रोक ललाउने आदेश दिएका थिए। ट्रम्पले उक्त आदेशको आलोचना गरेका थिए। आदेशलाई उनले ‘हास्यास्पद’ भनेका थिए।
उक्त आदेशविरुद्ध वासिङटनको फेडरल कोर्टमा अपिल गरिएको हो।
फेडरल कोर्टले पूर्वआदेश निरन्तरता दिए ट्रम्पको निर्णय निश्क्रिय हुनेछ। पूर्वआदेश बदर गरेमा निर्णय कार्यान्वयनमा आउनेछ।
ट्रम्प प्रशासनको निर्णयविरुद्धमा सार्वजनिक प्रदर्शन पनि भइरहेको छ। निर्णयपछि ६० हजार भिसा रद्द भएका छन्। अमेरिकासहित, लण्डन तथा पेरिसमा पनि प्रदर्शन भएको थियो।
ट्रम्प प्रशासनले सिरिया, इरान, लिविया, सोमालिया, सुडान र यमनबाट ९० दिनसम्म अमेरिका प्रवेश गर्न नदिने गरी अस्थायी प्रतिवन्ध लगाएको थियो। यस्तै शरणर्थीहरुलाई पनि १२० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाइएको थियो।