PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

द्वन्द्व प्रभावित बालबालिकालाई शैक्षिक सहयोग



रासस

रोल्पा : जोखिम अवस्थामा रहेका बालबालिका एवम् सशस्त्र द्वन्द्वबाट पीडित परिवारका लागि शैक्षिक सहयोग, वैकल्पिक स्याहार र आयआर्जन क्रियाकलापमा सहयोग गरिएको छ। 

द्वन्द्व प्रभावित बालबालिकाको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालित परियोजनाबाट अप्ठेरो वा कठिन अवस्थामा रहेका बालबालिका र युवा तथा सशस्त्र द्वन्द्वबाट पीडित एवं आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थाका बालबालिकाको परिवारलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएको जिल्ला बालकल्याण समिति रोल्पाले बताएको छ। 

शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयको सहयोगमा जिल्ला बालकल्याण समितिमार्फत जिल्लामा तीन सय ४४ बालबालिकालाई शैक्षिक सहयोग गरिएको हो । यसैगरी ५६ बालबालिकालाई वैकल्पिक स्याहार, दुई जनालाई उपचार खर्च र १५ अभिभावकलाई आयआर्जनमा सहयोग गरिएको जिल्ला बालकल्याण समितिका परियोजना अधिकृत इन्द्रा शाहीले जानकारी दिए। 

शैक्षिक सहयोगबापत प्रतिविद्यार्थी रु पाँच हजार उपलब्ध गराइँदै आएको तथा आयआर्जनका लागि प्रतिपरिवार रु १५ हजार र वैकल्पिक स्याहारबापत रु पाँच हजार पाँच सय सहयोग गरिएको छ। 

अघिल्लो वर्ष सोही परियोजनाबाट दुई सय ३२ बालबालिकालाई शैक्षिक सहयोग गरिएको बताइएको छ । सशस्त्र द्वन्द्वमा देशमै सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति पुगेको रोल्पामा नौ सय ४६ को मृत्यु र ३३ जना अझै बेपत्ता रहेको स्थानीय शान्ति समितिका पूर्व संयोजक खेम बुढाले जानकारी दिए। 

द्वन्द्वका क्रममा जिल्लामा अभिभावक गुमाएका बालबालिका चार सय १६ जना रहेको बालकल्याण समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell