
काठमाडौं : व्यवस्थापिका संसद्को बैठक आज पनि बस्दैछ। आजको बैठकले दुई आर्थिक विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउँदैछ। यस्तै, विकास समितिको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदनमा छलफल हुनेछ।
आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बोनस ऐन संशोधन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने कार्यसूची छ। यस्तै महराकै प्रस्तावमा संघीय आकस्मिक कोष विधेयकलाई पनि समितिमा पठाउने कार्यसूची छ।
दुवै विधेयक संसद्को अर्थ समितिमा दफावार छलफलका लागि पठाइनेछन्।
आइतवारको बैठकमा विकास समितिका सभापति रवीन्द्र अधिकारीले समितिको अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन संसद्मा पेश गर्नेछन्। समितिमा पेश भएको प्रस्तावमा छलफल हुनेछ।
छलफलमा उठेका प्रश्नको जवाफ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जवाफ दिनेछन्।