
एथ्लेटिक विल्वाओलाई ३-० ले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदुरी १ मा झारेको छ।
घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा पाको अल्कासेरले १८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। लुइस सुवारेजको स्थानमा पहिलो रोजाइँमा मैदान उत्रेका अल्कासेरले नेमारको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन्।
४० औं मिनेटमा लियोनल मेसीले फ्रिकिक मार्फत गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। दोस्रो हाफमा एलेक्स भिदालले १ गोल थपे। ६७ औं मिनेटमा भिदालले राकिटिकको पासमा गोल गरे।
जितपछि बार्सिलोनाको २१ खेलबाट ४५ अंक भएको छ। दुई खेल कम खेलेको लिग लिडर रियलको ४६ अंक छ। वर्षको कारण सेल्टाभिगोसँग शनिबार हुने भनिएको रियलको खेल आइतबारको लागि सारिएको छ।
यस्तै फर्नान्डो टोरेसको २ गोल मद्दतमा एथ्लेटिको मड्रिडले लेगानेसलाई २-० ले हरायो। खेलको १५ औं मिनेटमा टोरेसलाई लेगोनसका सिओभासले डि एरिया पलल गरेपछि एथ्लेटिकोले पेनाल्टी प्राप्त गरेको थियो।
एन्टोनी ग्रिजमनले प्रहर गरेको पेनाल्टी प्रहार लेगानेसको गोलरक्षकले रोकेपनि डिफ्लेक्ट बलमा टोरेसले गोल गरेका हुन्। ५१ औं मिनेटमा टोरेसले एन्जेल कोरेअको पासमा व्यक्ति दोस्रो गोल गर्दै एथ्लेटिकोलाई २-० को जित दिलाए। जितपछि २१ खेलबाट ३९ अंक जोडेको एथ्लेटिको चौथौ स्थानमा यथावत छ।
अन्य खेलमा आइबरले १० खेलाडीको भ्यालेनिसयालाई ४-० ले पराजित गर्दा स्पानयोलले मालागालाई १-० ले हरायो।