PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

देउवाले आफ्नै निवासमा किन बोलाए मधेसी मोर्चाका नेतालाई?



पहिलोपोस्ट

देउवाले आफ्नै निवासमा किन बोलाए मधेसी मोर्चाका नेतालाई?

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई बैठकका लागि डाकेका छन्। संसद्मा सरकारलाई भोट हालेको मधेसी मोर्चा र सरकारबीच नै अविश्वासको वातावरण बनिरहेका बेला देउवाले मोर्चा नेताहरुलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका हुन्।
 
'अहिले निर्वाचन सम्बन्धी अनिश्चितता छ, यसलाई कसरी सहज बनाउन सकिन्छ भन्ने हो,' कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, 'संविधान संशोधनको प्रक्रिया अघि बढेपछि निर्वाचनको मिति घोषणा गर्दा मोर्चालाई आपत्ति हुँदैन त्यही कुरा सुनिश्चित गर्न उहाँले मोर्चासँग छलफल गर्न लाग्नुभएको हो।' संशोधन पारित भए विजयको रुपमा र फेल भए त्यही एजेण्डा लिएर मोर्चा जनतामा जान खोजेको भन्दै विश्वकर्माले त्यसलाई सत्तापक्षले सहजीकरण गरेर चुनावमा जानुपर्ने बताए।
  
'मोर्चा संशोधन पारित भए खुसीयालीका साथ र पारित नभए त्यही एजेण्डा जनतामा लगेर चुनाव गर्ने पक्षमा भए पनि एमालेका साथीहरु रिजिड भएका कारण समस्या भएको छ,' उनले भने, 'संशोधन प्रस्ताव अघि बढेपछि थप रिजिड नबन्दिनका लागि देउवाले मोर्चासँग छलफल गर्नुभएको हो।'
 
तर मोर्चाका नेताहरुले भने के विषयमा छलफल गर्ने भन्ने विषयमा भने जानकारी नभएको बताएका छन्।
 
'दिउँसो ३ बजे मोर्चा आबद्ध दलका नेताहरुलाई उहाँले घरमै बोलाउनुभएको छ,' मोर्चाका नेता लक्ष्मणलाल कर्णले भने, 'बैठकमा छलफलको विषय नबताए पनि समसामयिक विषय नै हो भनेर बुझ्न कठिन छैन।' उनले संविधान संशोधन र चुनावमा केन्द्रित भएर कुराकानी हुने अपेक्षा गरे।
 
'संविधान संशोधन प्रस्ताव अघि बढेन भने चुनावको परिस्थिति निर्माण हुँदैन,' कर्णले भने, 'त्यसैले हामी यो कुरा स्पष्टसँग राख्नेछौं।'
 
स्थानीय तहको संख्याका विषयमा मोर्चाको गम्भीर असहमति रहेको भन्दै उनले त्यसलाई सच्याउने र संविधान संशोधन गर्ने विषय एकसाथ बढाएर चुनावमा जान सकिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell