
इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा बोलोग्नालाई ७-१ ले पराजित गर्दै नेपोली अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।
बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा नेपोलीलाई फराकिलो जित दिलाउन मारेक हमसिक र ड्राइ मर्टेन्सको ह्याट्रिक गरे।
चौथो मिनेटमै गोल गरेका हमसिकले ७० औं र ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे भने मर्टेन्सले ३३ औं, ४३ औं र ९० औं मिनेटमा गोल गरे। नेपालीको लागि अर्को गोल लरेन्जो इनसिग्नेले गरे।
ह्याट्रिकसँगै हमसिक अटिला सलुस्ट्रोलाई पछि पार्दै नेपोलीको अल टाइम टप स्कोररको दोस्रो स्थानमा उक्लेका छन्। हमसिकले १०९ गोल गरेका छन्। उनी भन्दा अघि अर्जेन्टाइन लेजेण्ड डिएगो म्याराडोना (११५) गोल छन्।
२६ औं मिनेटमा दुई गोलले पछि परेको अवस्थामा बोलोग्नाले पेनाल्टीको अवसर प्राप्त गरेपनि माटिअ डेस्ट्रोले प्रहार गरेको पेनाल्टी नेपोलीका गोलरक्षक पेपे रैनाले रोको थिए।
घरेलु टोली बोलोग्नाको लागि भासिलिओस टोरोसिसिडअसले सान्त्वना गोल गरे।
दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए। २६ औं मिनेटमा बोलोग्नाका अडम मासिनालाई फल गरेपछि नेपोलीका जोस मारिया कालेजोन रेड कार्ठको सामना गर्दै मैदान बाहिरिएका थिए। यस्तै नेपोलीका मर्टेन्सलाई फल गरेपछि मासिनालाई रेफ्रिले ३२ औं मिनेटमा सिधै रातो कार्ड देखाएका थिए।
जितपछि २३ खेलबाट ४८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको नेपोली शीर्ष स्थानको युभेन्ट्स भन्दा ३ अंले पछि छ। युभेन्ट्सले २१ खेल मात्र खेलेको छ। २२ खेल खेलेको रोमा ४७ अंकका साथ तेस्रो स्थानमा छ।
सिरि ए अन्तर्गत आइतबार शीर्ष स्थानको युभेन्ट्सले चौथो स्थानको इन्टरमिलानसँग घरेलु मैदानमा खेल्नेछ।