
रोस टेलरको शतक र ट्रेण्ट बोल्टको ६ विकेटको मद्दतमा न्युजिल्याण्डले अष्ट्रेलियालाई तेस्रो तथा अन्तिम वान डे मा २४ रनले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पारेको छ।
२८२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४७ ओभरमा २५७ रनमा अलआउट भएपछि न्युजिल्याण्डले चापेल हाड्ली सिरिज २-० ले जितेको हो।
अकल्याण्डमा भएको पहिलो वान डे न्युजिल्याण्डले ६ विकेटले जितेको थियो भने नापिएरको दोस्रो वान डे वर्षाका कारण रद्ध भएको थियो।
ह्यामिल्टनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले टेलरको १०७ रनको मद्वतमा पुरै ५० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा २८१ रन बनायो। १०१ बल खेलेका टेलरले १४ चौका प्रहार गरे। टेलरले तेस्रो विकेटका लागि डिन ब्रोनलिसँग सय रनको साझेदारी गरे। ब्रोनलीले ६३ रन बनाए।
कप्तान काने विलियमसनले ३७ रन जोडे भने मिचेल सान्टनर ३८ रनमा नटआउट रहे। सान्टनरले ३४ बलमा ३ चौका र २ छक्का समेत प्रहार गरे। सान्टनगर बाहेक टीम साउदीले पनि एक छक्का प्रहार गरे। साउदीले १२ बलमा १० रन जोडे।
जवाफमा बोल्टले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि अष्ट्रेलिया १८ बल अगावै अलआउट भयो। अष्ट्रेलियाका लागि ओपनर आरोन फिन्च र ट्रभिस हेडले अर्धशतक प्रहार गरेपनि हार टार्न पर्याप्त रहेन। फिन्चले ५६ तथा हेडले ५३ रन बनाए।
यस्तै मार्कुस स्टोइनिसले ४२, प्याट कमिङ्सले २७ तथा सन मार्सले २२ रन जोडे। मिचेल स्टार्क २९ रनमा नटआउट रहे। जोस हाजलउड ४, एडम जाम्पा १ रनमा आउट भए भने पिटर ह्याण्ड्सकम्ब, ग्लेन म्याक्सवेल र जेम्स फउकनरले खाता समेत खोल्न सकेनन्।
बलिङमा न्युजिल्याण्डका बोल्टले १० ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर ६ विकेट लिए भने मिचेल सान्टनरले २ तथा कप्तान विलियमसनले १ विकेट लिए।