PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

ह्याप्पी बर्थ डे अनिल : जसले लिस्ट ए क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गरे



पहिलोपोस्ट

ह्याप्पी बर्थ डे अनिल : जसले लिस्ट ए क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गरे

काठमाडौं : नेपाली राष्ट्रिय टिमबाट लिस्ट ए मान्यता प्राप्त वान डे क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी अनिल मण्डल आज २६ औं जन्मदिन मनाउँदैछन्।
 
अनिल नेपालको राइट ह्याण्ड ओपनिङ ब्याट्सम्यान हुन्।
 
वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सन् २०१५ जुलाई २९ मा भएको स्कटल्याण्ड विरुद्धको पहिलो खेलमा अनिलले नेपालको तर्फबाट शतक प्रहार गरेका थिए। ३६ ओभरमा छोट्याइएको उक्त खेल नेपालले ३ रनले गुमाए पनि अनिलले व्यक्तिगत उपलब्धि हात पारेका हुन्। ९३ बल खेल्दै अनिलले ९ चौका र १ छक्का प्रहार गरेका थिए।
 
यस्तै अनिलले तेस्रो विकेटका लागि कप्तान पारस खड्कासँग १३९ रनको पार्टनरसिप गरेका थिए। जुन त्यस बेला नेपालले लिस्ट ए मा गरेको सर्वाधिक पार्टनरसिप थियो। पछि वर्ल्ड क्रिकेट लिगमै नामिबियाविरुद्ध कप्तान पारसले शरद भेषावकरसँग तेस्रो विकेटका लागि १६७ रनको पार्टनरसिप गर्दै रेकर्ड तोडेका थिए।
 
पारसले नामिबिया विरुद्धको उक्त खेलमा १०३ रन बनाएका थिए।
 
अनिल नेपालको राष्ट्रिय टोलीबाट शतक प्रहार गर्ने पाँचौं खेलाडी हुन् भने नेपालको लागि दुई शतक प्रहार गर्ने पहिलो खेलाडी। उनले सन् २०१२ मा मलेसियामा भएको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-४ मा डेनमार्क विरुद्ध नेपालको लागि १३४ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ११३ रन बनाएका थिए। त्यसअघि नेपालबाट राजु खड्का, शक्ति गौचन, शरद भेषावकर र सुवास खकुरेलले शतक प्रहार गरेका थिए।
 
अनिलपछि नेपालबाट दुई शतक प्रहार गर्ने पनि पारस नै हुन्। पारसले सन् २०१२ मा एसीसी इलाइट ट्रफीमा कुवेतविरुद्ध १०६ रन बनाएका थिए। यसबाहेक उपकप्तान ज्ञानेन्द्र मल्लले पनि नेपालका लागि शतक प्रहार गरेका छन्।
 
यस्तै घरेलु राष्ट्रिय क्रिकेट प्रतियोगितामा सर्वाधिक ४ शतक प्रहार गर्ने रेकर्ड पनि अनिलकै नाममा छ। उनले दुई वर्षअघि भएको राष्ट्रिय प्रतियोगितामा सर्वाधिक ३ शतक प्रहार गरेका थिए।
 
घरेलु क्रिकेटमा त्रिभुवन आर्मीबाट व्यावसायिक क्रिकेट खेल्ने अनिलले एनपिएल र इपिएलमा सगरमाथा लेजेण्ड्सबाट खेलिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell