
काठमाडौं : कला क्षेत्रमा युवा जमातको बढ्दो आकर्षणलाई सम्बोधन गर्ने उद्देश्यले यसै वर्षदेखि सुरु ‘नेशनल एक्टिङ कम्पिटिसन' अब भने टेलिकास्ट हुने निश्चित भएको छ। गत असार महिनादेखी प्रशारण हुने भनिएपनि प्रतियोगिताको कुनै पनि अङ्क प्रसारण भएको थिएन।
'प्राविधिक समस्याका कारण हामीले तोकिएको समयमा प्रसारण सुरु गर्न सकेनौं', संयोजक रवी धमलाले भने,'राम्रो कामको लागि समय लाग्छ नै।' उनका अनुसार प्रतियोगिता अब हरेक विहिबार राती ८:२० बजे इमेज च्यानल मार्फत प्रस्तुत हुनेछ।
हालसम्म प्रतियोगितामा उत्कृष्ट १५को चयन भईसकेको जानकारी धमलाले पहिलोपोस्टलाई दिए। टेलिभिजनमा प्रसारण भने अडिशन राउण्डदेखिकै हुनेछ। टप पन्ध्र देखिको प्रतियोगिता भने टेलिभिजन प्रसारणसँगै अघि बढाउने बताइएको छ।
प्रतियोगितमा काठमाडौं भित्र र बाहिरबाट दुई हजार मान्छेको सहभागिता रह्यो। काठमाडौंमा मात्र अडिशन सम्पन्न भएपनि काठमाडौं बाहिरका प्रतियोगीका लागि भिडियो मार्फत अडिशन दिने व्यवस्था आयोजक युनिटले मिलाएका थिए।
इभेन्ट आयोजना र व्यवस्थापन गर्दै आएको ‘नेक्स्ट मोडल्स नेपाल’ले असार २२ गतेबाट अडिशन सुरु गरेको थियो।
प्रतियोगितामा चर्चित अभिनेता दायाहाङ राई, अभिनेत्री ऋचा शर्मा र कलाकार अनुप बरालले प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट प्रतिभाहरु छनोट गरेका हुन्।
प्रतियोगिताका विजेताले दुई लाख ५० हजार रुपैयाँसम्म उपहार प्राप्त गर्ने बताइएको छ।