काठमाडौं : वर्षौंदेखिको सपना बनेको मेलम्चीको पानी उपत्यकामा भित्र्याउने तयारी तीव्र रुपमा भइरहेको छ। तर मेलम्चीको पानी सबैले पाउनेछैनन्। पहिलो चरणमा पानी पाउने भाग्यमानी चक्रपथभित्रका ६० प्रतिशत मात्रै हुनेछन्। चक्रपथ बाहिरका र भित्रका बाँकी रहेका क्रमश: पानी पाउनेछन्।
- पहिलो चरणमा पानी पाउने ठाउँहरु :
- नारायणहिटी, प्रहरी हेडक्वाटर, कमलपोखरी, सिंहदरबार, थापाथली, टेकु र न्युरोड
- भाटभटेनी, हाँडीगाउँ, कालोपुल, गौशाला, सिनामंगल, पुरानोबानेश्वर, मैतीदेवी र पुतलीसडक
- तिलगंगा, सिनामंगल, भिमसेनगोला, नयाँबानेश्वर, बिजुलीबजार र सेतोपुल
- सिंहदरबार, अनामनगर, बबरमहल, थापाथली चोक र माइतीघर
- बागमती पुल, चाकुपाट, मनहरा पुल, ग्वार्को, पाटन दरबार र पुल्चोक
- पुल्चोक, एकान्तकुना, सातदोबाटो र ग्वार्को
- नयाँ सडक, हनुमानढोका, महादेव स्थान, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे र ठमेल
- कुपन्डोल, हरिहरभवन, जावलाखेल, एकान्तकुना, सानेपा र टेकुदोभान
- तीनकुने, कोटेश्वर, जडिबुटी, नरेफाँट, बालकुमारी पुल, शंखमुल दोभान र महादेवस्थान
- वनस्थली, शोभाभगवती र बिजेश्वरी
- कलंकी, सोल्टीमोड, कालीमाटी, टेकुदोभान, कुलेश्वर र बल्खु
अब कसरी जोडिन्छन् धारा?
पहिला धारा जोड्दा एउटै पाइपमा धेरै धारा जोडिएका थिए। खानेपानीको बिल तिरेको समेत जानकारी हुँदैन्थ्यो। धेरैले यसैलार्इ मौकाको रुपमा हेरेर लामो अवधिसम्म महसुल तिरेनन्।तर अब भने प्रत्येक घरको अलगै लाइन हुनेछ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक तथा प्राविधिक विभाग प्रमुख तिलकमोहन भण्डारीका अनुसार महशुल नतिरेको जानकारी हुने र महसुल नतिर्नेबित्तिकै खानेपानी दिन बन्द गरिनेछ।
एउटैमा धेरै घरमा पानी वितरण हुँदा समस्या हुन्थ्यो। मेलम्ची आएपछि ९ वटा ट्यांकीबाट एकै ठाउँमा ८ घन्टासम्म पानी वितरण हुनेछ। पानी आउँदा धेरैका लागि मोटर लगाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ।
मेलम्चीको पानी दैनिक कम्तीमा १७ करोड लिटर दसैंसम्म ल्याउनेगरी काम भइरहेको छ। अहिले उपत्यकामा पाइपलाइनको काम भइरहेको छ। वर्षौंदेखि खानेपानीको महसुल नतिर्नेहरु मेलम्चीको पानी आउने भएपछि तिर्न आउन थालेका छन्। केयुकेएलले महसुल नतिर्नेलार्इ मेलम्चीको पानी नदिने जानकारी गराएपछि महसुल तिर्ने क्रम बढेको हो।