काठमाडौं : नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले काठमाडौंको नाम 'लखनपुर' राख्नुपर्ने तर्क गरेका छन्।
संसद्को विकास समितिको बैठकमा सांसद खतिवडाले जताततै 'खन्दै पुर्ने' प्रवृत्ति मौलाएको भन्दै लखनपुर नामकरण गर्ने ठट्यौलो सुझाव दिए। 'ल' यसो गरौं भन्यो। अनि 'खन' भनेपछि खन्यो। आज खनेको ठाउँमा भोलि नै पुर्यो,' उनले भने, 'यस्तो काम हुने ठाउँलाई किन लखनपुर नभन्ने?'
सडक विस्तार, मेलम्चीको पाइपलाइन खन्ने काम तथा अप्टिकल फाइबर बिछ्याउँदा अव्यवस्थित रुपमा काम हुने गरेको उनले बताए।
यस्तै नेकपा एमालेका सांसद रामेश्वर फुयाँलले भने चाबहिलको बौद्ध स्तुपाअगाडि डुंगाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। विकास निर्माणमा हेलचेक्रयाइँ भएको भन्दै उनले डुंगाको व्यवस्था गर्न भन्दै सरकारमाथि व्यंग्य गरे। 'सडक निर्माण कहिले सिद्धिँदैन। हिउँदमा धुलोले हिँडिनसक्नु छ,' उनले भने, 'अब बर्खामा पानी र हिलोले हिँडडुल गर्न सकिन्न। बरु सरकारले अहिलेदेखि नै डुंगाको व्यवस्था गर्नेबारे सोचोस्।'