
ललितपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार दक्षिणपन्थीहरुको गठबन्धनमा बनेकाले जनतामा भ्रम फैलाइरहेको आरोप लगाएका छन्।
युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले जनतामा निर्वाचनको भ्रम छरेर देश टुक्रयाउन लागिपरेको बताए। 'निर्वाचन गर्नभन्दा पनि अहिले हुन्छ र भरे हुन्छ भन्दै आश्वासन मात्र बाँडिरहेको छ,' उनले भने, 'गर्छ कि जस्तो देखाएर जनतालाई अलमल्याउने काम मात्र भइरहेको छ।'
संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव देशको हितमा नभएको र एमालेले कुनै पनि हालतमा छलफल गर्न नदिने अडान ओलीले दोहोर्याए। 'संशोधन गर्छु भनेर सरकार नाटक मञ्चन गरिरहेको छ। एमाले त्यसको सधैं विरोधमा उत्रन्छ,' उनले भने।
भूकम्पपछिको पुनर्निर्माणलाई गति दिनुको साटो पुनर्निर्माण प्राधिकरणलाई आफ्ना मान्छेको भर्ती केन्द्रका रुपमा सरकारले प्रयोग गरेको ओलीको भनाइ थियो।
'ड्रोनले पनि खिच्न भ्याउँदैन'
संविधान संशोधन विधेयक लगायत निर्वाचनको विषयमा सरकारको आलोचना गर्दै आएको एमालेले फागुन २१ गतेदेखि आन्दोलन गर्ने भएको छ। झापाबाट सुरु हुने देशव्यापी आन्दोलनको जनशक्ति र मधेसमा एमालेको प्रभावबाट विपक्षीहरु तिलमिलाउने अध्यक्ष ओलीले बताए। 'सानातिना क्यामेराले खिच्न नभ्याउने गरी जनसागर उर्लिन्छ। ड्रोनले पनि खिच्न भ्याउँदैन। स्याटेलाइटबाट मात्र सम्भव हुनेछ,' उत्साहित हुँदै उनले भने, 'पत्रकार साथीहरुले बरु त्यस दिनका लागि अग्लाअग्ला ठाउँमा गएर फोटो लिने तयारी गर्दै गर्नुहोला।'