
काठमाडौं : महाअभियोग सिफारिस उपसमितिले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि छानबिन गरी प्रतिवेदन तयार गरेको छ।
महाभियोग सिफारिस समितिले दिएको १५ दिनको समयसीमामै छानबिन पूरा गरी प्रतिवेदन तयार गरिएको उपसमितिका संयोजक तथा नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले बताए। 'प्रस्तावमा लगाइका महाभियोग सही रहेछन् भन्ने पुष्टि भएको छ। केही नयाँ कुराहरु पनि आएका छन्,' उनले भने। आउँदो माघ २६ गते समितिमा प्रतिवेदन बुझाइने भन्दै उनले अरु कुरा खुलाउन चाहेनन्। उनका अनुसार प्रतिवेदन २० पृष्ठको छ।
बिडारी संयोजक रहेको उपसमितिमा नेपाली कांग्रेसका दीपक कुँइकेल, नेकपा एमालेका रेवतीरमण भण्डारी सदस्य छन्। छानबिनका लागि उपसमितिले महान्यायाधिवक्ताको कार्यालयसँग पनि आवश्यक परामर्श लिएको थियो।
गत कात्तिक ३ मा १ सय ५७ सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग दर्ता गरेका थिए।
कार्कीले अख्तियारको दुरुपयोग गरेको, केही चिकित्सकहरुलाई कारबाही गर्न संविधान विपरीत त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको, काठमाडौ विश्वविद्यावलयले सञ्चालन गरेको एमबीबीएसको प्रवेश परीक्षामा अनावश्यक हस्ताक्षेप गरेको, राष्ट्रसेवक लगायतका व्यक्तिविरुद्ध भ्रष्टाचार र अनुसन्धानको बहानामा अनावश्यक दुःख दिएको, निजको कार्यशैलीसँग असहमत हुने व्यक्ति र संस्थाप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको, आफ्नो पद र हैसियतको दुरुपयोग गरी राष्ट्रसेवक लगायतलाई विभिन्न आदेश तथा निर्देशन दिई आफू अनुकुल प्रशासन संयन्त्रलाई प्रयोग गर्ने दुष्प्रयास गरेको लगायत महाभियोग प्रस्तावमा उल्लेख छ।
सर्वोच्चले कार्कीलाई अयोग्य भन्दै पदमुक्त गरिसकेको छ।