PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अल्ट्रा एचडी (फोरके) च्यानलसहितको डिजिटल टिभी प्रदायक आउने, इन्टरनेट पनि सस्तोमा दिने लक्ष्य



उमेश पौडेल

अल्ट्रा एचडी (फोरके) च्यानलसहितको डिजिटल टिभी प्रदायक आउने, इन्टरनेट पनि सस्तोमा दिने लक्ष्य

नेपालमा पहिलोपटक अल्ट्रा एचडी (फोरके) प्रविधिका च्यानलहरुसहित इन्टरनेट,डिटिएच र डिजिटल टिभीसमेत संचालनका लागि नयाँ कम्पनी स्थापना भएको छ।

बजारमा टिभी सेटमा यसअघिनै प्रविधि भित्रिए पनि यहाँका सेवा प्रदायकले त्यो क्वालिटीको स्ट्रिमिङ गर्न सकेका थिएनन्।
 
नेपालमा यो प्रविधि भएका कुनै पनि च्यानल रहेका छैनन। भारतमा केही च्यानल फोरके प्रविधिका रहेका छन्। इङ्लिस मुभी तथा स्पोर्टस च्यानल फोरकेमा आधारित छन्।

सात अर्ब लगानीको योजनासहित नेपाल डिजिटल केवल कम्पनी स्थापना भएको हो। विदेशी लगानीसहित आउन लागेको यो कम्पनीमा अन्नपूर्ण समूहका रामेश्वर थापासहितको नेपाली साझेदार छन्।

चीनको गोस्पेल डिजिटल टेक्नोलोजी र  भारतको होराइजन कम्पनीको लगानीमा स्थापना भएको यो कम्पनीले हाम्रो टिभी ब्राण्डमा आफ्नो सेवा विस्तार गर्नेछ। कम्पनीमा तीस प्रतिशत चिनियाँ कम्पनी, भारतीय र नेपालीको शेयर भने टुंगो लाग्न बाँकी रहेको स्रोतले बतायो।

कम्पनीका सिइओ धर्मेन्द्र सापकोटाले पूर्वाधारको काम भइरहेको बताउँदै एक महिनाभित्रै इन्टरनेट र डिजिटल टिभी सुरु गरिने जानकारी दिए।उनका अनुसार इन्टरनेटका लागि दूरसञ्चार प्राधिकरणबाट अनुमति लिइसकिएको छ।डिटिएचका लागि भने संचारमन्त्रालयबाट अनुमतिको क्रममा रहेको उनले बताए।कम्पनीले पानीपोखरीमा कर्पोरेट अफिस र तीनकुनेमा  सिम्रिक एयर रहेको विल्डिङमा 'टेक्निकल डिपार्टमेन्ट' रहनेछ।
 
संसारको सवैभन्दा धेरै डिटिएचसँग सम्वन्धित उपकरणहरु उत्पादन गर्ने चीनको गोस्पेल डिजिटल टेक्नोलोजीका फाइबर र  डिटिएचका सामाग्रीहरु प्रयोग गर्ने कम्पनीले जनाएको छ। त्यस्तै नेपाली तथा भारतीय कम्पनीवाट इन्टरनेटको व्याण्डविथ खरीदका लागि छलफल भइरहेको कम्पनीका बरिष्ठ प्रवन्धक केहर केसीले बताए। हाम्रो टिभीले सुरुमा नेपालमा इन्टरनेट र टिभीको सेवा दिइरहेका कम्पनीहरुसँग सहकार्य गर्ने उनले बताए।
 

डिटिएच प्रविधिमा पनि सेवा दिने

कम्पनीले इन्टरनेटका साथै डाइरेक्ट टु होम (डिटिएच) प्रविधिमा आधारित भएर डिजिटल प्रविधिको टिभीसेवा दिने भएको छ। डिटिएचका लागि चिनियाँ कम्पनीसँग सम्झौता हुने र सोही कम्पनीका उपकरणहरु प्रयोगमा ल्याइने केसीले बताए।

कम्पनीले ग्राहकसँग जडान खर्च नलिने र ६ महिनासम्म निशुल्क वा ५० प्रचास प्रतिशत छुटमा सेवा दिने जनाएको छ।कम्पनीले एकसय ७५ वटा साधारण च्यानल, ५० वटा एचडी च्यानल तथा ६ वटा अल्ट्रा फोरके च्यानल दिने भएको छ।हाल नेपालमा डिसहोम एकमात्र डिटिएच टिभी सेवा दिइरहेको छ। 
 

न्युनतम १ एमविपिएसमा इन्टरनेट

कम्पनीले प्रत्येक प्रयोगकर्तासम्म इन्ड टु इन्ड फाइवर टु होम (एफटिटिएच) प्रविधिमा रहेर इन्टरनेट सेवा दिने जनाएको छ। कुनै पनि इन्टरनेट कम्पनीले दिएको सवैभन्दा सस्तो अफरभन्दा ५० प्रतिशत सस्तो दरमा इन्टरनेट दिने केसीले बताए।
 
सो प्याकेज अनुसार इन्टरनेट सेवा दिने र सेवा अनुसार नचले पैसा फिर्ताको ग्यारेन्टी गर्ने कम्पनीले दाबी गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell