PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​पर्वतमा क्याम्पस सञ्चालनका लागि महायज्ञमा उठ्यो दुई करोड, २० लाख दिने सांसद्को घोषणा



रासस

फलेवास (पर्वत) : यहाँको एक विकट गाउँमा सञ्चालित महायज्ञबाट रु दुई करोडभन्दा बढी सङ्कलन भएको छ। 

दक्षिण पर्वतको रानीपानी गाविसमा सञ्चालित धार्मिक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञबाट रु दुई करोड २५ लाख रकम सङ्कलन भएको हो । स्थानीय नेपाल तारा माविमा स्नातक तह सञ्चालन गर्ने र प्राविधिक विषयको पठनपाठनलाई थप स्तरोन्नति गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो। 

आइतबार सकिएको महायज्ञबाट उक्त रकम सङ्कलन भएको महायज्ञमूल संयोजक होमनाथ पराजुलीले जानकारी दिए। पराजुलीले सङ्कलित रकमको समयमै सदुपयोग गरी बिहादी बहुमुखी क्याम्पस स्थापना गरी प्राविधिक विषयको पठनपाठनलाई थप व्यवस्थितसँगै विद्यालयको भौतिक, शैक्षिक सुधारमा खर्च गरिने बताए। 

त्यस्तै सहयोगीले आफूले गरेको सहयोग रकम समयमै सदुपयोग गर्न आग्रह गर्दै नपुग हुने रकम स्रोत पहिचान गरेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । महायज्ञमा युवा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गरेका थिए। महायज्ञ अवधिभर दान गर्न आमा समूह, टोल विकास संस्था, क्लब, शैक्षिक संस्थासहित दानवीरको घुइँचो लागेको थियो। दान गर्नका लागि पर्वत, गुल्मी, स्याङ्जा, बाग्लुङ लगायतका जिल्लाका गाविसबाट भक्तजन र दानवीर पुगेका थिए। 

महायज्ञमा सबैभन्दा बढी काठमाडौँमा कार्यरत जनसेवी लघु वित्तका अध्यक्ष विकास गौचनले रु पाँच लाख २५ हजार प्रदान गरे। रानीपानीका चुडामणि पौडेलले रु दुई लाख २७ हजार सहयोग गरे। त्यस्तै परिवारका तर्फबाट सबैभन्दा बढी गगनबहादुर कुँवरको परिवारले रु १० लाख र टीकाराम क्षेत्रीको परिवारले रु ६ लाख प्रदान गरेका थिए। 

उक्त महायज्ञको उद्घाटन कार्यक्रममा सांसद विकास लम्सालले रु २० लाख, अर्का सांसद अर्जुनप्रसाद जोशीले पनि २० लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell