
काठमाडौं : आदिवासी सुन्दरी छनोट प्रक्रिया पुनः सुरु भएको छ। प्यासिफिक इभेन्ट मेनेजमेन्टले गत वर्षबाट सुरु गरेको ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ का लागि आवेदन खुला गरिएको हो।
प्रतियोगिताको दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको आयोजक संस्था प्यासिफिक इभेन्टले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो।
प्रतियोगितामा सहभागी हुनका लागि १५ सय रुपैयाँ आवेदन शुल्कबाहेक अन्य शुल्क नलाग्ने आयोजकले जनाएको छ। ‘यो शुद्ध आदिवासी युवतीहरुको प्रतियोगिता हो’, आयोजक संस्थाका अध्यक्ष फुपु तेञ्जिङ शेर्पाले भने। उनका अनुसार प्रतियोगितामा आदिवासी जनजातिका कला, संस्कृति र रहन–सहनबारे ज्ञान दिइने छ।
‘आदिवासी आवाज’ नारा दिइएको कल्चरल सौन्दर्य प्रतियोगिता ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’का लागि आउँदो ७ फागुनमा राजधानीको ताहाचलस्थित होटल सोल्टीमा पहिलो अडिसन लिइँदैछ। प्रतियोगिताको अन्तिम स्पर्धा आउँदो १४ चैतमा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने आयोजकले जनाएको छ।