PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

'दलित किन मन्दिर छिरेको' भन्दै विकलाई पुजारीले तिराए पाँच हजार, ज्यान लिने धम्की



रासस

रामेछाप : रामेछापको बेताली गाविसमा मन्दिर प्रवेश गरेको भन्दै स्थानीय एक दलितलाई मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराई तत्काल रुद्री लगाएर मन्दिर चोख्याएका छन्।
 
बेताली–३ मा रहेको शेराकाली महाङ्कालथान मन्दिरमा शनिबार सोही वडाका कृष्णकुमार विकले पूजा गरेको भन्दै मन्दिरका पुजारीद्वय वेताली–३ का छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ज्यानै मार्ने सम्मको धम्की दिई उक्त रकम असुलेका हुन्।
 
स्थानीयवासीले मन्दिरमा प्रत्येक शनिबार र मङ्गलबार निःसन्तान मानिस सन्तान प्राप्तिका लागि, युवा विदैशिक रोजगार फलदायी बनाउन र बोली नआएका बालबच्चाको बोली फुराउन उक्त मन्दिरमा गएर भाकल गर्ने गर्दछन्। भाकल अनुसारको बलि चढाई पूजाआजा गरेपछि समस्या समाधान हुने जनविश्वास रहेको छ।
 
सोही जनविश्वासअनुसार विकले पनि आफ्नो छोरी दुई वर्षको हुँदा पनि बोली नआएकाले उनकी श्रीमतीले उक्त मन्दिरमा गई पाठी पूजा गर्ने भाकल गरेकी थिइन्। भाकल गरेअनुसार कृष्ण पाठी पूजा गर्न शनिबार मन्दिर पुगेका थिए।
 
विक मन्दिरभित्र प्रवेश गर्नासाथ 'दलित किन मन्दिरभित्र पसेको' भन्दै पुजारीले बाहिर निकाली गालीगलौज गर्न थाले। पीडित कृष्णकुमारले 'हामी चाहिँ पस्नै नमिल्ने भनेर आफ्ना कुरा राख्दै गर्दा खुरुक्क पाँच हजार जरिवाना तिर नभए तेरो ज्यान लिन्छौँ' भन्दै पुजारीले नै दुर्व्यवहार गरेका थिए। त्यति बेलासम्म विकले पैसा तिर्न मानिरहेका थिएनन्।
 
पुजारी छत्रबहादुरले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर कार्की र स्थानीय सामाजसेवी गुञ्जबहादुर कार्कीलाई फोन गरेर सोधे। गुञ्जबहादुरले फोनमार्फत नै 'कामीहरुलाई कुनै हालतमा पनि त्यतिकै नछाड्नू पाँच हजार जरिवाना तिराएर मात्र छोड्नु र सो रकमले मन्दिरमा रुद्री लगाएर मात्र अरू पूजा गर्नु' भनेर आदेश दिएपछि सोही बमोजिम पुजारीले जरिवाना गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell