PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

सिरी ए : घरेलु मैदामा युभेन्ट्सको लगातार २८ औं जित, शीर्ष स्थानमा ६ अंकको अग्रता



पहिलोपोस्ट

सिरी ए : घरेलु मैदामा युभेन्ट्सको लगातार २८ औं जित, शीर्ष स्थानमा ६ अंकको अग्रता

इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा शीर्ष स्थानको युभेन्ट्सले इन्टर मिलानलाई पराजित गर्दै दोस्रो स्थानको नेपोलीमाथि ६ अंकको अग्रता बनाएको छ।

टुरिनमा भएको डर्बी इटालिया भिडन्तमा युभेन्ट्सले इन्टर मिलानलाई १-० ले पराजित गरेको हो। ओल्ड लेडीको जितमा जुवान कुअड्राडोले ४५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

इन्जुरी टाइममा इन्टरका इभान पेरिसिकले सिधै रातो कार्डको सामना गरेका थिए।

घरेलु मैदानमा युभेन्ट्सको यो लगातार २८ औं लिग जित हो। २०१५ सेप्टेम्वरमा फ्रोसिनोनसँग बराबरी खेलेयता युभेन्ट्सले घरेलु मैदानमा भएको सबै लिग खेल जितेको छ।

जितपछि २२ खेलबाट युभेन्ट्सको ५४ अंक भएको छ भने दोस्रो स्थानको नेपोली भन्दा अझै एक खेल कम खेलेको छ। २३ खेलबाट ४८ अंक जोडेको नेपाली दोस्रो तथा २२ खेलबाट ४७ अंक रहेको रोमा तेस्रो स्थानमा छ।

यस्तै पेस्कारालाई ६-२ ले पराजित गर्दै लाजियो चौथो स्थानमा उक्लेको छ। लाजियोको फराकिलो जितमा मार्को पारोलाले ४ गोल गरे भने सिरो इम्मोबाइल र बाल्डे केइटाले १/१ गोल गरे। पेस्काराका लागि अहमद बेनाली र गास्टोन ब्रुगमनले १/१ गोल गरे।

जितपछि २३ खेलबाट लाजियोको ४३ अंक भएको छ। युभेन्ट्ससँग हारेपछि ४२ अंक रहेको इन्टर पाँचौमा झरेको छ।

एसी मिलान साम्पडोरियासँग १-० ले पराजित भएको छ। साम्पडोरियालाई महत्वपूर्ण ३ अंक दिलाउन लुइस मुरियलले पेनाल्टीमार्फत निर्णायक गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell