
काठमाडौं: थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘बेड नं. ९९’ प्रदर्शनको अन्तिम सातामा पुगेको छ। महेशविक्रम शाहको कथामा आधारित नाटकको माघ ७ गतेदेखि नियमित मञ्चन भइरहेको छ।
पात्रहरुको मनोवैज्ञानिक चिरफार गरिएको नाटक दर्शकहरुले मन पराएको निर्देशक घनश्याम श्रेष्ठको दाबी छ। उनले भने, ‘बेड नं ९९ मा मैले पात्रहरुको मनोदशालाई नाटकीय शीलपका साथ कलात्मक र मनोरञ्जक बनाउने प्रयास गरेको छु।’
मदन पुरस्कार प्राप्त कथाकार शाहको सिपाहीकी स्वास्नी कथासंग्रहमा संग्रहित कथालाई निर्देशक श्रेष्ठले नाटकको परिकल्पना गरेका हुन्। ‘बेड नं ९९’ एउटा मानसिक अस्पतालको कथा हो जहाँ शंका, भ्रम र आत्मसम्मान तथा हिनातावोधको चिरफार हुन्छ। ९९ भन्दा पहिले भर्ना भएका बेड नं ९८ को मानसिक दशालाई नाटकले विस्तार गर्छ र सँगै क्याविनमा रहेका दुई विरामीको वार्तालापबाट सुरु हुने नाटकले अन्त्यमा ९८ को उपचारमा सफलता हात पार्छ र ९९ को वास्तविक परिचयले दर्शकहरुलाई चकित तुल्याउँछ।
पछिल्लो समय संवादप्रदान नाटकहरुको बाहुल्य रहेको बेला थिएटर आकार र थिएटर मलको संयुक्त प्रस्तुति रहेको यो नाटक भने दृश्यप्रधान छ। कतिपय दृश्यहरु संवादविहिन छन् तर त्यही दृश्य नाटकको शक्तिशाली पक्ष हुन् जसले कथावाचनलाई झन् बलियो बनाएको छ।
पात्रहरुको मानसिक अवस्था तथा मनोभावलाई कोरसको र संगीतको माध्यमबाट प्रस्तुत गरिएको छ।
नाटक ‘बेड नं ९९’मा विकास जोशी, श्याम खड्का, शुष्मा कोइराला, रेनुका कार्की, सुशिला लक्ष्मी महर्जन, श्रीनेहा पोखरेल, केसव रिजाल, शुभम गणेश पौडेल, सुमन कोइराला, अन्जनी भरतवाल, शंकर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला डंगोल लगायतले अभिनय गरेका छन्।
थिएटर मलमा यो नाटक माघ २९ सम्म बुधबारबाहेक हरेक साँझ ५:०० बजे मञ्चन हुनेछ। शनिबार दिउँसो १:३० बजेकल लागि पनि अतिरक्ति शो रहेको जानकारी दिइएको छ।