काठमाडौं: फिल्म 'लुट टू'ले प्रदर्शनका लागि पिजी सर्टिफिकेट प्राप्त गरेको छ। सेन्सर बोर्डले फिल्मका केही संवादलाई मौन तुल्याउन निर्देशन समेत दिएको निर्माता माधव वाग्लेले जानकारी दिए।
'लुट टू'को ट्रेलर रिलिज कार्यक्रममा फिल्मका पटकथा लेखक तथा निर्देशक रहेका निर्देशक बस्नेतले फिल्ममा सेन्सरले कैंची लागउनु पर्ने कुनै पनि दृश्य नभएको बताएका थिए। उनले फिल्मको कुनै पनि दृश्य काट्न पर्ने नभएको दाबी गर्दै भनेका थिए,'दृश्यमा कैंची चल्यो भने वा एडल्ट सर्टिफिकेट लिएर फर्कन पर्यो भने म चुप बस्दिन।'
फिल्मले पिजि वा युनिभर्सल सर्टिफिकेटनै पाउन पर्ने उनको दावी थियो।
उनले भनेजस्तै फिल्मको कुनै पनि दृश्य सेन्सर बोर्डले काटेन। तर केही संवादमा भने सेन्सर बोर्डले आपत्ती जनाएको हो। फागुन १३ गतेबाट प्रदर्शन हुने फिल्म अब प्यारेन्टस् गाइड लाइनमा हेर्न पर्ने भएको हो।
फिल्म दुई घण्टा अठार मिनेट लामो बनेको बताइएको छ।
लुटको कथाले निरन्तरता पाएको छ, सिक्वेल लुट टूमा। सौगात मल्ल, दयाहाङ राई, कर्मा, सुशीलराज पाण्डे, ऋचा शर्मा, प्रविन खतिवडा, सिर्जना सुब्बा, प्रतिक राज न्यौपाने, कामेश्वर चौरसिया, विपिन कार्की आदीको मुख्य भूमिका रहेको फिल्मलाई वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन्।