काठमाडौं : सुनकाण्डमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ।
संगठित अपराध ऐन अन्तर्गत थप अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न म्याद थप गरिएको हो। अदालतले खत्रीलाई चार दिनसम्म न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। संगठित अपराधमा ६० दिनसम्म म्याद थप गरी अनुसन्धान गर्न पाइने व्यवस्था छ।
अन्य अभियुक्तहरु पुस २१ गते पक्राउ परेकाले उनीहरुसँगै गाभेर अनुसन्धान सुरु गर्नुपर्ने व्यवस्था छ। यस अनुसार अब फागुन २१ गतेसम्म उनीहरुलाई न्यायिक हिरासतमा राख्न प्रहरीले अनुमति पाउँछ। त्यसपछि प्रहरीले सरकारी वकिललाई अनुसन्धानको प्रस्तावित रायसुझाव बुझाउँछ। सोही रायसुझावका आधारमा उसले अभियोगपत्र तयार गरी अदालतमा मुद्दा दर्ता गर्छ।
गत पुस २१ गते दुबईबाट अवैध रुपमा भित्र्याइएको ३३ केजी सुन तस्करीमा संलग्नता रहेको भन्दै खत्रीलाई आइतबार प्रहरी हेडक्वार्टरबाटै पक्राउ गरिएको थियो।
विमानस्थलमा कार्यरत एसएसपी खत्रीलाई माघ ३ गते प्रहरी प्रधान कार्यालय नक्साल तानिएको थियो। सुन काण्डमा पक्राउ परेकाको बयान र फोन कलको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नियन्त्रणमा लिएको हो।
ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले सुन तस्करीमा खत्रीको संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरेको बताए।