काठमाडौं : 'बाथ मुटुरोग' भएका विपन्न नागरिकका लागि नि:शुल्क उपचार सुरु गरिने भएको छ। गंगालाल हृदयरोग केन्द्र बाँसबारीबाट फागुन १ देखि यो सेवा सुरु गरिने भएको हो।
केन्द्रका प्रशासन प्रमुख दीपेन्द्र खड्काले यसका लागि अस्पतालले तयारी गरिसकेको बताए। 'अस्पतालबाट प्रतिवेदन मन्त्रालयमा पठाइसकेका छौं। दुई-तीन दिनभित्रै विस्तृत जानकारी आऊला,' उनले भने।
स्वास्थ्यमन्त्री गगन थापाले केही दिन अघिमात्र विपन्न नागरिकहरुका लागि मुटुको भल्भसँग सम्बन्धित रोगको उपचार नि:शुल्क गर्ने घोषणा गरेका थिए।
के हो बाथ मुटुरोग?
यो रोग खासगरी मुटुको भल्भसँग सम्बन्धित समस्या हो। बच्चामा बाथ ज्वरो आउँछ र समयमा उपचार नगराउँदा पछि गएर मुटुको भल्भमा समस्या देखिन्छ। यसैलाई 'बाथ मुटुरोग' भनिएको हो। यस्तो खाले रोग १५ वर्षभन्दा कम उमेरमै लाग्ने गरेको चिकित्सक बताउँछन्।कोही सानै उमेरमा डक्टरकहाँ पुग्छन्, रोग पत्ता लाग्छ र सुई तथा औषधिले नै उपचार सम्भव हुन्छ। सानैमा रोग पत्ता लगाई उपचार गराउँदा भल्भ नफेरेर पनि उपचार हुन्छ, तर ढिलो भएमा यसको अन्तिम उपचार भल्भ फेर्ने मात्रै हो।
बिरामीले भल्भ फेरियो अब त सबै कुरा ठिक भयो भनेर लापरवाही गरे झन् खतरा हुने बताउँछन् केन्द्रका प्रशासन प्रमुख दीपेन्द्र खड्का। उनका अनुसार बिरामीले भल्भ फेरिसकेपछि सधैं डाक्टरको सल्लाहमा रहनुपर्छ। रगत पातलो बनाउने औषधि खाइरहनुपर्छ भने बेलाबेला चेक गराउनुपर्छ।
पुरुषहरुमा त्यस्तो धेरै समस्या नदेखिए पनि महिलाहरुमा प्रजनन प्रक्रियामै असर पुग्ने खड्काले बताए। 'कुनै अपवादमा आमा बनेका पनि छन्,' उनले भने, 'खासमा मुटुको भल्भ फेरिसकेपछि आमा बन्ने सपना लगभग सकिन्छ।' बच्चा अवस्थामा 'बाथ ज्वरो' आउँदा नै मुटुको पनि चेक अप गरायो भने बाथ मुटुरोग लाग्ने सम्भावना कम हुने उनी बताउँछन्।
नि:शुल्क उपचार कसलाई?
'बच्चालाई मुटुरोग भएकोले उपचारमा समस्या' भन्ने खालका जुन समाचार आइरहेका छन्, त्यो त सरासर ठगी खाने बाटो रहेको खड्का तर्क गर्छन्। किनकि १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्धवृद्धलाई पहिलेदेखि नै नि:शुल्क उपचार चलिरहेको छ। लाग्ने भनेको आउने-जाने भाडा र खाना खर्च मात्रै हो। अस्पतालमा बसुन्जेल सबै औषधि खर्च पनि अस्पतालले नै बेहोर्छ।१६ देखि ७४ वर्षसम्मका बाथ मुटुरोगी विपन्न वर्गका भए जिल्ला जनस्वास्थ्यको सिफारिसपछि मात्र एक लाख रुपैयाँसम्म सरकारले बेहोर्ने गरेको थियो। अब भने त्यो उमेर समूहका रोगीको उपचार पनि नि:शुल्क हुनेछ। अन्य मुटु रोग लागेमा भने जनस्वास्थ्यको सिफारिसका आधारमा एक लाख रुपैयाँसम्म सरकारले बेहोर्ने प्रक्रिया नै लागू हुनेछ।
अहिलेको तयारी नै सबै उमेर समूहका विपन्न नागरिकलाई नि:शुल्क उपचार दिने हो भन्छन् खड्का।