
इंगलिस टेष्ट क्रिकेट टीमका कप्तान एलेस्टर कुकले आफ्नो पदबाट राजिनामा दिएका छन्।
इंगल्याण्ड ५९ टेष्टमा कप्तानी गरेका कुकले आइतबार कप्तानी छाड्ने निर्णय इंगल्याण्ड तथा वेल्स क्रिकेट बोर्डलाई जानकारी गराएका थिए।
सन् २०१२ मा इंगलिस टेष्ट टोलीको कप्तानी सम्हालेका कुक इंगल्याण्डको लागि सबैभन्दा बढी टेष्टमा नेतृत्व गर्ने कप्तान समेत हुन्।
उनको नेतृत्वमा इंगलयाण्ड २०१३ र २०१५ मा अष्ट्रेलिया विरुद्वको एससे सिरिज जितेको थियो।
इंगल्याण्ड कप्तान हुँदै बितेको ५ वर्ष टेष्ट टीमलाई नेतृत्व गर्नु आफ्नो लागि ठूलो सम्मान भएको कुकले बताएका छन्। 'कप्तानबाट हट्नु एकदमै कठिन निर्णय हो तर मलाई थाहा छ यो मेरो लागि सही निर्णय हो र टीमको लागि पनि सही समय हो।'
कप्तानबाट हटेपनि कुकले इंगलिस टेष्ट टोलीमा भने निरन्तरता दिनेछन्।
बोर्डले कुकको राजिनामालाई स्वीकृत गरिसकेको र नयाँ टेष्ट कप्तान चयन गर्ने प्रक्रिया अगाडी बढाएको छ। वर्तमान उपकस्तान रहेको जोए रुटलाई इंगल्याण्डको ८० औं टेष्ट कप्तान बनाइने सम्भावना बढी छ।