PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विज्ञहरुको सुझाव- 'सबैको पहुँचमा पुग्ने गरी शिक्षालाई गुणस्तरीय बनाऊ'



रासस

काठमाडौँ : शिक्षालाई गुणस्तरीय बनाउन र त्यसमा सबैको पहुँच पुर्‍याउन शिक्षाविद्हरुले सुझाव दिएका छन्।
 
शिक्षा मन्त्रालय, शिक्षा विभागद्वारा आज काठमाडौँमा आयोजित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवालाले व्यावहारिक र गुणस्तरीय शिक्षामा साझा प्रयासको आवश्यकता औँल्याए।
 
शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले सबै विद्यार्थीलाई विद्यालयसम्म ल्याउनु, शिक्षामा सबैलाई समान पहुँचको अवसर दिनुलगायत शिक्षाको सवालमा राज्यसँग धेरै चुनौति रहेको बताए।
 
विभागका उपनिर्देशक विष्णु अधिकारीले प्रारम्भिक कक्षा पढाइको सफलतामा बालबालिका आफू एक्लैले भन्दा पनि अभिभावक, शिक्षक–शिक्षिका, छिमेकी तथा साथीहरूको पनि महत्त्वपूर्ण भूमिका हुने बताए।
 
शिक्षक धनञ्जय शर्माले कक्षा लिने अवधिभरि विद्यार्थीलाई बोल्न दिनेभन्दा पूरै समय शिक्षकले मात्रै बोल्ने संस्कारको अन्त्य गर्दै समग्र शिक्षण विधिमा परिवर्तन गर्नुपर्ने धारणा राखे।
 
सन् २०१४ युएसएआइडीले नेपालमा पहिलोपटक राष्ट्रव्यापी रुपमा सुरु गरेको प्रारम्भिक कक्षा पढाइ मूल्याङ्कनले नेपालका लागि प्रारम्भिक कक्षा पढाइ ठूलो चुनौतीका रूपमा रहेको देखाएको छ। मूल्याङ्कनअनुसार कक्षा २ मा पढ्ने ३७ प्रतिशत र कक्षा ३ मा पढ्ने १९ प्रतिशत विद्यार्थीले उनीहरूलाई पढ्न दिएका पठन सामग्रीबाट एक शब्द पनि शुद्ध पढ्न सकेनन्।
 
प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कक्षा १ देखि ३ सम्म पढ्ने सम्पूर्ण नेपाली विद्यार्थीको पढाइ सीप सुधार गर्न युएसएआइडी नेपालको आर्थिक सहयोगमा शिक्षा मन्त्रालयद्वारा पाँच वर्षे परियोजना सन् २०१५ देखि सञ्चालनमा रहेको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell