काठमाडौँ : वैदेशिक रोजगारीमा जाँदा गरिने जीवन बिमाको प्रिमियम फागुन १ गतेदेखि परिवर्तन हुँदैछ। सबै उमेर समूहका व्यक्तिले पहिले तिर्दै आएको प्रिमियममा क्रिटिकल इलनेस (प्राणघातक रोग) को बिमाका लागि थप प्रिमियम तिर्नु पर्नेछ।
बिमा समितिका निर्देशक श्रीमान् कार्कीले पहिले तिर्दै आएको प्रिमियममा प्राणघातक रोगका लागि थप ४०० रुपैयाँ प्रिमियम लिने निर्णय भएको जानकारी दिए। फागुन १ गतेदेखि नयाँ बिमा लेख लागु हुनेछ।
यसअघि १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिले ३५२४ रुपैयाँ तिर्दै आएकोमा अब ३९२४ रुपैयाँ प्रिमियम तिर्नु पर्नेछ। ३६ देखि ५० वर्ष उमेर समूहका व्यक्तिले पहिला ४९३० रुपैयाँ तिर्दै आएकोमा अब भने ५३३० रुपैयाँ तिर्नु पर्नेछ।
पहिले श्रम सम्झौताभन्दा अतिरिक्त ६ महिनाको बिमा गरिँदै आएकोमा अब भने १ वर्षको अतिरिक्त बिमा हुनेछ। त्यो भनेको वैदेशिक रोजगारीमा जाने व्यक्ति २ वर्षको श्रम सम्झौता लिएर काम गर्न गए पनि उसको बिमा ३ वर्षसम्मको हुनेछ। ३ वर्षको श्रम सम्झौता हुनेहरुको ४ वर्षसम्मको बिमा हुनेछ।
खाडी मुलुक साउदी अरब, दुबर्इ, कतारलगायतका देशमा दुई वर्षको श्रम सम्झौता हुन्छ भने मलेसिया, दक्षिण कोरियालगायतका देशमा ३ वर्षको श्रम सम्झौता हुने गरेको छ।
जीवनबिमा कम्पनीले १० लाख रुपैयाँ बराबरको जीवनबिमा र ५ लाख रुपैयाँ बराबरको क्रिटिकल इलनेस बिमा गर्नेछन्। नेपाल लाइफ इन्सुरेन्स कम्पनीका शाखा प्रमुख नरुत्तम ढकाल भन्छन्- 'कसैले २० लाख रुपैयाँ बराबरको बिमा हुने भयो भन्छन्, कसैले २७ लाख रुपैयाँ बराबरको बिमा हुने भयो भन्छन्। खासमा बिमा कम्पनीले १० लाख रुपैयाँको जीवन बिमा र ५ लाख रुपैयाँको क्रिटिकल इलनेस बिमा मात्रै गर्छन्।'
वैदेशिक रोजगारीमा गएको व्यक्तिको मृत्यु भएमा भने अन्य शीर्षकमा नेपाल सरकार र वैदेशिक रोजगार विभागले पनि केही रकम थप दिएर २७ लाख रुपैयाँसम्म पुग्ने हो।
अब जाने कामदारले क्रिटिकल इलनेस भएमा बिमा कम्पनीबाट ५ लाख रुपैयाँ पाउँछन्। क्रिटिकल इलनेसका कारण मृत्यु भएमा १५ लाख रुपैयाँ पाउँछन्। बिमाको दायरा यति नै हुन्छ। अन्य शीर्षकमा सरकारले केही रकम थप दिने हो। कामदारले यो विषयमा स्पष्ट हुन जरुरी छ कि बिमा कम्पनीले २० लाख वा २७ लाख रुपैयाँ नदिएर अधिकतम १५ लाख रुपैयाँसम्म मात्रै दिने हो- ढकालले भने।