PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ठेक्कापट्टा चाँडो सक्न सरकारलाई लेखा समितिको निर्देशन



रासस

काठमाडौँ : चालु आर्थिक वर्षमा स्वीकृत हुन बाँकी रहेका कार्यक्रम आगामी फागुन १५ गतेभित्र स्वीकृत गराई र ठेक्कापट्टाको काम गर्न गराउन व्यवस्थापिकासंसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ।

बजेट कार्यान्वयन, सञ्चित रकमको खर्च र बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता व्यवस्थापनका विषयमा आज बसेको समितिको बैठकले मुख्य सचिवमार्फत सरकारलाई सो निर्देशन दिएको हो।

समितिका सभापति डोरप्रसाद उपाध्ययले बजेट कार्यान्वयनको प्रमुख चुनौतीका रुपमा रहेको पुँजीगत खर्चको अवस्था अझै पनि निराशाजनक भएको भन्दै त्यसतर्फ सरकारको तत्काल ध्यानाकर्षण हुनुपर्ने बताए।

उनले भने, 'हालसम्म कतिपय आयोजनामा छुट्याइएको बजेटभन्दा कम रकमको अख्तियारी भएको र १५ दिनभित्र सम्पूर्ण रकम अख्तियारी दिने व्यवस्था मिलाउन बैठकको निर्देशन छ।'

राष्ट्रिय गौरवका आयोजनाको निर्माण मोडालिटी तय हुने गरी पहिलो प्राथमिकतामा राखी कार्य प्रारम्भ गर्न नेपाल सरकार तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य मन्त्रालयलाई निर्देशन दिएको छ।

बैठकले आयोजना कार्यान्वयनमा सम्बन्धित जिम्मेवार पक्षसँग कार्य सम्पादन सम्झौताका आधारमा मूल्याङ्कन पद्धति सबै आयोजनामा लागू गर्न पनि निर्देशन दिएको छ।

चालु आर्थिक वर्षमा विनियोजित रकममध्ये जेठ महिनाभित्र ८० प्रतिशत गर्नैपर्ने र असार महिनामा कुनै पनि बहानामा २० प्रतिशतभन्दा बढी खर्च नहुने गरी खर्च गर्न पनि निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्थाको लगानी गर्दा उपभोग्य क्षेत्रमा लगानी गर्नेभन्दा पुँजी निर्माण, उत्पादन, उत्पादकत्व वृद्धि हुने तथा रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्ने नीति बनाउन राष्ट्र बैंकलाई बैठकले निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell