बागलुङ : जिल्लाको अधिकारीचौर–३ घैयाखेत, बगाहस्थित गोठमा आगलागी हुँदा आज एकै परिवारका दुई जना बालबालिका जलेर मुत्यु भएको छ।
मृत्यु हुनेमा सात वर्षीय यमलाल विक र तीन वर्षीया सम्झना विक रहेका छन्। चुल्होमा बलिरहेको आगो एक्कासी खरले छाएको गोठमा सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ।
अभिभावक नभएका बेला गोठभित्र बसिरहेका दुवै बालबालिका जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए।
मृतकका आमा पारु विक बिहानै घाँस काट्न बारीमा गएका बेला उक्त घटना भएको जनाइएको छ। विकका श्रीमान् ओमबहादुर विक भने रोजगारीका लागि विदेशमा रहेका छन्।
विक बालबच्चासहित अस्थायी रुपमा उक्त गोठमा बस्दै आएका थिए। घटना भएको ठाउँ नजिकै बस्ती नभएकाले बालबालिकाको समयमै उद्धार हुन नसकेको जनाइएको छ।
मृतक दुवै बालबालिकाको शव परीक्षणका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ।
यसैबीच सप्तरीको पातो– ७ मा आफ्नै तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिलालाई प्रहरीले आज पक्राउ गरेको छ।
पक्राउपर्नेमा स्थानीय २५ वर्षीया उर्मिलादेवी मण्डल रहेकी छिन्। धर्मदेव मण्डलका तीन वर्षीय छोरा रामअवतार मण्डलको हत्या उनकै काकी उर्मिलादेवी मण्डलले घरायसी विवादका कारण आक्रोशमा आएर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
साडीको कपडामा पोको पारी सेतो प्लास्टिकको बोरामा घर पछाडि रहेको मलघारीमा लुकाइएको अवस्थामा आइतबार साँझ उनको शव प्रहरीले फेला पारेको थियो।
तीन दिनअघि मृतक रामअवतारका आमा र काकी उर्मिलादेवीबीच घरायसी वादविवाद भएको थियो र सो क्रममा उर्मिलाले मृतककी आमालाई तेरो छोरा मारिदिन्छु भनेर धम्की दिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए।
पक्राउ परेकी महिलालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत राजविराजबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए। रासस