काठमाडौँ : रानीपोखरीको माटो परीक्षण गरिएपछि मात्र सफा गर्ने काम सुरु गरिने भएको छ।
रानीपोखरीको पुनर्निर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार खानी तथा भूगर्भ विभागले माटो परीक्षण गर्नेछ। पोखरीमा रहेको माटाले पानी कत्तिको सोस्छ भन्ने जाँच गर्न विभागले यसै साता माटो परीक्षण गर्न लागेको छ ।
गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका सबै माछा अन्यत्र सारी पोखरी सफा गर्ने तयारी भए पनि माटो परीक्षणमा ढिलाइ भएको कामपाले जनाएको छ। पोखरीका वरपर अन्य निर्माण भइरहेको छ।
दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराएको इतिहासमा उल्लेख छ। विसं २०७२ वैशाख १२ को भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेतमा क्षति पुगेको थियो। चार सय वर्षदेखि सफा नगरिएको उक्त पोखरी निर्माणकै अवसर पारी सफा गर्न लागिएको हो।
धेरै नदी, कुण्ड र तीर्थस्थलका जलले भरिएको ऐतिहासिक महत्व बोकेको विष्णुतीर्थको पुनर्निर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ।